मोरङ । सुनसरी र मोरङमा दशगजा मिचेर बनाइएका घरटहरा भत्काउन नेपाल र भारतले संयुक्त अभियान थालेका छन । तीन दिनयता नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) मिलेर दशगजा खाली गराइरहेका छन् । अहिलेसम्म नेपालतर्फबाट बनाइएका दर्जनजति र भारततर्फका आठवटा घर–टहरा भत्काइएका छन् । १ कठ्ठा १० धुरजति जमिनमा लगाइएको तरकारी र केराखेती नष्ट गरिएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–४ इटरी र भारततर्फ अररिया, सोनापुर ग्रामपञ्चायत–१७ गुवारपुच्छीमा १८५ नम्बरदेखि १८४ नम्बरको मुख्य सीमास्तम्भसम्मको अतिक्रमण हटाइएको हो । यसका लागि सशस्त्रका १३ र एसएसबीका पाँच जना खटिएका छन् । शुक्रबार बर्जु–३ मा सात स्थानका घरटहरा भत्काइयो । दुवैतर्फका अधिकारीको संयुक्त निर्णयबाट दशगजाका घरटहरा हटाएर खेती नष्ट गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए ।
दशगजा क्षेत्र भारत र नेपालको सिमाना हो । दशगजाको बिचमा रहेको स्तम्भबाट नेपालतर्फ ३० र भारततर्फ ३० गरी ६० फिट जमिन खाली राख्नुपर्छ । एसएसबी र सशस्त्रले यसअघि बर्जु–४ का १५ स्थानमा दशगजाको अतिक्रमण हटाएको एसपी ढकालले जानकारी दिए ।
यसअघि बिहीबार सुनसरीको साहेबगन्जबाट सशस्त्र प्रहरी बलका निरीक्षक श्यामबाबु राय यादव नेतृत्वको टोली र एसएसबीको ५६ बटालियन ए कम्पनी पथदेवाबाट ए,एस,आई मूलराज शर्माको टोलीले संयुक्तरूपमा घर–टहरा हटाएको थियो ।