मोरङ । दूरसञ्चार प्राधिकरणले पाँच जिल्लाका विभिन्न विद्यालय, संस्था र स्थानीय तहका कार्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर र खोटाङका ९ सय ५९ विद्यालय, स्वास्थ्य संस्था, गाउँ, नगरपालिका र वडा कार्यालयले यस्तो सुविधा पाउने भएका हुन् ।
पाँचै जिल्लाका प्रत्येक घरमा इन्टरनेट सेवा विस्तार गर्न टेकमाइन्ड नेपालसँगको सहकार्यमा काम गरिरहेको प्राधिकरणले यो सुविधा दुई वर्षलाई उपलब्ध गराउने परियोजना संयोजक प्रदीपकुमार चौधरीले बताए । फाइबर र वायरलेस दुवै माध्यमवाट विस्तार हुन लागेको इन्टरनेट सेवामा नेपाल दुर सञ्चार कम्पनीको पनि प्राविधिक सहयोग रहने उनले जानकारी दिए । इन्टरनेट सेवा विस्तारका लागि प्राधिकरण र टेकमाइन्डले पाँचथरको फिदिम हवसम्म फाइबर विछ्याउने, टावर निर्माणजस्ता पुर्वाधारका काम गरिरहेका छन । पुस मसान्तभित्र सबै काम सकेर सेवा विस्तार गर्ने तयारी रहेकोछ ।