काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अहिलेसम्म २४ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ। प्रवर्द्धक सतलज जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको बताए। ‘अहिले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ,’उनले भने। सिइओ धिमानले सन् २०२३ भित्र निर्माण गर्ने योजना रहेको बताए।‘अहिलेकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै सहजै भेट्टाउनेछौं,’ उनले भने,‘यो आयोजना भारत र नेपाल दुवैको लागि अति महत्ववपूर्ण भएकाले पनि तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्नेछौं।’ कार्यकारी अधिकृत धिमानले तोकिएको समयमै सम्पन्न गरेर अन्य आयोजनाका लागि मार्गदर्शक बन्ने योजनामा रहेको सुनाए।
‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं। त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं’ उनले भने। सतलज जलविद्युतले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ। ‘हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका छौं,’ उनले भने,‘सन् २०४० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ।’
आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए। सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४।४६ प्रतिशत सेयर छ। जसमा हिमाञ्चल प्रदेशको २५ ।५१ प्रतिशत र बाँंकी सर्वधारणको छ। कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ। २२५ मेगावाट क्षमताको चार वटा युनिटबाट ९ सय मेगावट बिजुली उत्पादन गरिनेछ।