मोरङ । बैंक कसुर मुद्दामा मोरङ जिल्ला कारागारमा कैद भक्तानी गरिरहेका लेटाङ ३ मोरङका २८ वर्षीय असोक राईको असोज ९ गते मृत्यु भयो । कारागार प्रशासनका अनुसार वैशाखमा जिल्ला कारागार मोरङ आएका उनको स्वास्थ्यमा यसअघि खासै कुनै समस्या थिएन ।
केही दिनदेखि सास फेर्न अलिक गाह्रो भइरहेको कुरा उनले बताइरहेका थिए । कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनको समस्यालाई अन्य कर्मचारीले बुझेनन् । सास फेर्न निकै गारो भएपछि उनलाई असोज ९ गते कोशी अञ्चल अस्पताल विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन साँझमा उनको निधन भयो ।
जिल्ला कारागारमा करिब डेढ वर्षदेखि अहेव पद रिक्त छ । लामो समयदेखि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कार्यालय सहयोगी गौरी राजवंशीले कैदीबन्दीहरूको औषधि ल्याउने काम गरिरहेका छन् । साथै बिरामी कैदीबन्दीहरूलाई डाक्टरको सल्लाह अनुसारको औषधि दिने काम पनि कार्यालय सहयोगी राजवंशीले नै गरिरहेका छन् ।
स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीलाई सामान्य समस्या आउँदा पनि अस्पताल लैजानुपर्ने बाध्यता रहेको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । ‘स्वास्थ्यकर्मी हुँदा समान्य स्वास्थ्य समस्याको प्राथमिक उपचार कारागार भित्रै गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर डेढ वर्षदेखि कारागारमा भएको एउटा अहेवको पद पनि रिक्त छ । कैदीबन्दीहरूलाई सामान्य केही समस्या आयो की अस्पताल कुदाइहाल्नु पर्ने समस्या छ ।’
कारागारमा कार्यरत अहेब अञ्जनीकुमार पोखरेलले २०७५ माघ १० गते राजिनामा दिएपछि हालसम्म उक्त दरबन्दीमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छैन । आफूहरूले यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा जानकारी गराए पनि सुनुवाइ नभएको निमित्त जेलर पोखरेलले बताएका छन् ।