आफूले गरेका काम सार्वजनिक गर्न जनप्रतिनिधिलाई नेकपाको निर्देशन - Pahilo Online

आफूले गरेका काम सार्वजनिक गर्न जनप्रतिनिधिलाई नेकपाको निर्देशन

writer

पहिलो अनलाइन

विराटनगर । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा निर्देशन दिएको छ । कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएको हो ।

कार्यक्रममा संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लामो समयको जनप्रतिनिधिविहीनता र जनताको बढ्दो आकांक्षालाई सम्बोधन गर्ने नाममा कानुन पालनामा उदासीन बन्न नहुने बताए । मन्त्री पण्डितले त्यसखालको काम गरेर हातमा हतकडी लाग्नु भन्दा पहिले नै सचेत हुन पनि आग्रह गरे । ‘माथिल्लो तहका मानिसले के भन्छन् । पार्टी कमिटीले के भन्छ भन्ने कुरा सुन्नुपर्छ । तर निर्णय गर्दा कानुनअनुसार गर्नुपर्छ’, पण्डितले भने,‘कानुनबिना पार्टीको वा कसैको आदेश आयो निर्णय ग¥यो भन्ने कुराले अप्ठ्यारो पर्छ । कानुनअनुसार काम गर्ने हो भने निर्णय, समन्वय र कार्यान्वयनमा सजिलो हुन्छ ।’ कर्मचारीसँग मिलेर अघि बढ्न पनि उनले आग्रह गरे ।

नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतले कानुनको कुरा जनप्रतिनिधिले जान्नुपर्ने भन्दै कानुनले मिल्ने नमिल्ने र हातमा हतकडी पर्ने नपर्ने कुरा पनि जनप्रतिनिधिकै हातमा रहेको बताए । कतिपय कानुनको कुरा नजान्दा पार्टी कमिटिबाट गलत निर्देशन भयो भन्दैमा निर्णय गर्नु अर्को गल्ती हुने कुरामा ख्याल राख्न उनको सुझाव थियो । ‘हेक्का राख्नुहोस् कानुनको कुरा तपाईंहरूले जान्नुपर्छ । कमिटीले जान्दैन । कानुनले मिल्ने नमिल्ने, तपाईंहरूको हातमा हतकडी पर्ने÷नपर्ने भन्ने कुरा तपाईंहरूले जान्नुपर्छ’ बस्नेतले भने ।

कार्यक्रममा जनप्रतिनिधिले भने समन्वय अभाव भएको, पार्टी एकता ढिलो हुँदा अन्योलता छाएको र नेकपाको सरकार आए पनि भ्रष्टाचार बढेको गुनासो गरे ।

मोरङका प्रदेशसभा सांसद उपेन्द्र घिमिरेले सामान्य सामाजिक काम पनि गर्न नसक्दा जनताप्रति पार्टीको छवि राम्रो नभएको भन्दै पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए । नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्यले भने आफूले गरेका निर्णयको सही ढंगले प्रचार पनि नभइरहेको भन्दै आवश्यक समन्वयका लागि पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले पार्टी एकता ढिलाइ हुँदा केही अन्योलता देखिएको भए पनि अब सशक्त भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरेले पनि आवश्यक समन्वय गरेर अगाडि बढ्न पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधिको भेलाबाट आफूले गरेका काम १ महिनाभित्र सार्वजनिक गर्न आफ्ना पार्टीबाट निर्वाचित मोरङका जनप्रतिनिधिलाई नेकपाले निर्देशन दिएको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एक महिनाभित्र आफूले गरेका काम सार्वजनिक गर्न र जिल्ला कमिटिलाई पनि बुझाउन निर्देशन दिएको बताए । यस्तै मोरङका ७ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद, मन्त्री, र संघीय सांसद तथा मन्त्रीलाई समेत १५ दिनभित्र आफूले गरेका काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाका सांसद तथा मन्त्रीहरूले बुझाएको प्रगति प्रतिवेदन जिल्ला पार्टीले सार्वजनिक गरिने उनको भनाइ छ । जनप्रतिनिधि र पार्टीबीच समन्वय नहुँदा भएका विकास र गरेका कामको जानकारी पनि जनताबीच पुग्न नसकेको भन्दै नेकपा मोरङले १० दिनभित्र १७ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सम्मिलित स्थानीय दलको समिति गठन गर्न समेत नेकपा मोरङले निर्देशन दिएको छ । यही समितिमार्फत जिल्ला पार्टी र स्थानीय जनप्रतिनिधिबीचको समन्वय प्रभावकारी बनाउने अध्यक्ष पोखरेलले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes