सोलुखुम्बु । पछिल्लो समय हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र जिल्ला अस्पताल फाप्लुमा चिकित्सक नहुँदा समस्या भएको छ। स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो। यसमा नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को ३ समेत आकर्षित हुन्छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ।
सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार अधिकार किटान गरेको छ। तर, यहाँ जिल्ला अस्पतालमा आउँदासमेत सहज सेवा नपाएको स्थानीय नागरिकको गुनासो छ। गाउँगाउँको स्वास्थ्य चौकीबाट रिफर हुने अधिकांश बिरामीको आशा र भरोसाको केन्द्र जिल्ला अस्पतालमै चिकित्सक नहुँदा यहाँका नागरिक बाह्य जिल्ला जान बाध्य छन्। उपचारको लागि अस्पताल पुगे पनि सामान्य उपचारसमेत नहुने भएपछि ओखलढुंगाको मिसन अस्पताल या काठमाडौं जानुपर्ने बाध्यता रहेको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाकी जन्ता राईले बताइन्।