सुनसरी । धरान उपमहानगरपालिका १५ बाझगरास्थित खोरिया बस्तीमा माइतबाट आएकै दिन श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या गरेका छन् । प्रहरीका अनुसार घटना बुधबार साँझ साढे ७ बजेतिर भएको हो ।
महादेवचोक नजिकै सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर टाउकोमा ढुङ्गाले हानेर विभत्स हत्या गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । अर्जुनसँग घरायसी विवाद भएपछि एक महिनाअघि नै जिना माइत घर गएकी थिइन् । तिहारको भाइटीका सकिएपछि घर फर्केर माइतबाट ल्याएको कोसेली श्रीमान्सँग खाइसकेर दुवै एकछिन टहलिन घरनजिकैको सेउती खोलाको निर्माणाधीन पुलमा निस्केका थिए ।
एक महिनापछि भेट भएका श्रीमान श्रीमतीबीच सामान्य भलाकुसारी, सुखदुखका विषयमा कुराकानी हुँदाहुँदै विवाद हुन थालेपछि अर्जुनले एक्कासी ढुंगा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्र.ना.उ न्यौपानेले बताए । ०६९ सालमा एकापसमा प्रेम भएपछि भागी विवाह गरेका थिए । उनीहरुका ६ वर्षीया छोरी छ ।
एकले अर्कोलाई शंका गर्ने, अरुसँग लागेको शंकाको भरमा सामान्य विवाद अरु बेला पनि गर्दै आएका थिए । अर्जुनले प्रारम्भिक बयानमा भनेका छन्, ‘श्रीमतीको हत्या गर्ने उद्देश्य थिएन । एकापसमा अरुसँग लागेको शंकाको विषयमा विवाद भने हुने गरेको थियो ।’ प्रहरीले युवा दम्पतीबीच वैवाहिक जीवनलाई सहज र सरल बनाउन एकापसमा विश्वासको कमीले हत्याको घट्नासम्म र्डोयाएको जनाएको छ ।
श्रीमतीको हत्यापछि शव निर्माणाधीन पुलमै छाडेर बाझगरा सामुदायिक वन नजिक रहेको सेउती खोलाको अर्को पुलमुनि लुकि बसेको अवस्थामा राति ११ बजे राईलाई प्रहरीले पक्राउ गरेको थियो । राईमाथि थप अनुसन्धान तथा कर्तव्य ज्यान मुद्दामा म्याद थपको लागि बिहीबार जिल्ला अदालतमा लगिएको छ ।