संखुवासभा । खाँदबारी नगरपालिका–९ स्थित अरुण नदीको लम्सुवा घाटमा पौडी खैल्न क्रममा डुबेर २ बालिका बेपत्ता भएका छन्। खाँदबारी–९ बस्ने १२ बर्षिया बिनिता राई र १० वर्षीया दलकुमारी राई अरुणमा डुबेर बेपत्ता भएको संखुवासभाका प्रहरी निरीक्षक टीका कार्कीले जानकारी दिए।
बुधबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा एकै घरका दुई दिदी बहिनी बेपत्ता भएका हुन्। चिचिला गाउँपालिका घर भई हाल खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्दै आएका थिए। घरदेखि पानी लिन लाचे धारा गएका दिदीबहिनी भाईहरुसँग पौडी खेल्न भन्दै बुधबार दिउँसो अरुण नदी पुगेको बताइएको छ। उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले खोजी गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। राई परिवार केही वर्षदेखि चिचिला गाउँपालिकाबाट तुम्लिङटार आएका थिए।
त्यस्तै अरुण नदीको कात्तिके घाटमा एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा भोजपुरको षडानन्द नगरपालिका–५ की २१ वर्षीया श्रीमती ललितला बिक रहेको इलाका प्रहरी कार्यालय दिंङलाले जनाएको छ। बिक अरुणको कात्तिके घाटस्थित पुलबाट हामफालेर बेपत्ता भएकी हुन्। षडानन्द नगरपालिका–५ चिउरीबोटेबाट संखुवासभाको खाँदबारी नगरपालिका–१० आउने क्रममा उनले अरुणमा हामफालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिए। श्रीमान् र छोरासहित माइती घर जाने क्रममा ललिताले बधबार पुलबाट हाम्फालेकी थिइन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।