उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटमा विद्युत सर्ट भई कपडा पसलमा आगलागी हुदाँ ७० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित विपी चौक नजिक सिताराम कार्कीको घर तथा कृषि विकास बैंक भएको पुरानो घरमा रहेको कपडा पसलमा आइतबार राति करिव ११ बजेको समयमा कपडा पसलमा विषण आगलागी हो।
दिपावलीको दिन मानिसहरु लक्ष्मी पुजा गर्नुको साथै देउसी भैलो खेल्न व्यस्त रहेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा प्रारम्भिक विवरण अनुसार फेन्सि कपडा, र्यापक र थानको कपडा जली अन्दाजी ७० लाख बढीको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबदादुर बुढामगरले जानकारी दिए । उनका अनुसार लक्ष्मी पुजाको दिन करिव राति ११ बजे आगो लागेपछि छिमेकीले थाह पाएपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थल आईपुग्दा सटर फुटाउँदा पसलको कपडाहरु पूर्णरुपमा जलिसकेको एसपी मगरले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा ११ः३० बजे आगो नियन्त्रणमा आएको थियो ।
कपडा पसलमा झापा जिल्लाका सिवसतासी नगरपालिका ३ का खेम नेपाल, झापा कमला गाउँपालिका ४ का नारायण पाण्डे र त्रियुगा नगरपालिका २ खैजनपुरका मोहन कार्कीको संयुक्त लगानीमा संचालनमा थियो । क्षतिको बारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट मकालुमा २५ लाख बढीको क्षति
संखुवासभा । आगलागीबाट मकालु गाउँपालिका ५ नुम बजारमा २५ लाख बढीको क्षति भएको छ। सोमबार बिहान आगलागी हुँदा रनबहादुर राईको घर जलेर नष्ट भएको छ। नरबहादुरको घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको नुम प्रहरी चौकीका इन्चार्ज टिकाराम राईले जानकारी दिए।
रनबहादुरको घरमा सोमबार बिहान अचानक विद्युत सर्ट भएर आगलागी भएको इन्चार्ज राईले बताए। आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायतको सामग्री पूरै जलेर नष्ट भएको बताए। आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीचौकी नुमले जनाएको छ। पीडित राईलाई सोमबार बजारबासीले ४ लाख बढीको नगद तथा राहात सामग्री संकलन गरेको पत्रकार गंगा विष्टले जानकारी दिए।