इलाम । इलामको सन्दकपुरमा भारतले नेपाली सीमामा हस्तक्षेप गरेको छ । गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा भारतले रोक लगाएको छ । नेपालले भ्यु टावर बनाउन लागेको जग्गालाई भारतीय प्रहरी एसएसविले आफ्नो भन्दै रोक लगाएको हो । इलामको सीमावर्ती क्षेत्रमा भारतले निर्माणाधिन नेपाली होटललाईसमेत अवरोध गरेको स्थानीयको भनाई छ ।
इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबी पाल टाँगेर बस्ने गरेका छन् । सीमामा रहेका सीमास्तम्भहरु पनि कतिपय गायब छन् । जिल्लाको सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ छन् ।
पशुपतिनगरको फाटकमा भारततर्फ दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । केन्द्रबाटै नापी टोलीले नाप्दा पनि दश गजाभित्रै गुम्बा बनाएको पुष्टि भएको थियो । तर पनि नेपालले पहल गर्दा पनि निर्माण रोक्न सकेन । तर नेपालतर्फका संरचनामा भने बारम्बार अवरोध सृजना गर्ने गरेको स्थानीयको दुःखेसो छ ।