मोरङ । मोरंगको रंगेली बजार र कानेपोखरी गाँउपालिका सडकमार्गले जोडिने भएपछि स्थानीय हर्षित भएका छन् । व्यवस्थित सडक बन्दै गरेकाले उनीहरू उत्साहित पनि छन् ।‘उत्तरको उत्पादन रंगेलीमा र दक्षिणको उत्पादन कानेपोखरीमा सहजै पुग्ने भएपछि बजार, व्यापार र रोजगारी बढ्छ,’ कानेपोखरी ३, हरकपुरका व्यवसायी योगेन्द्रप्रसाद ढकालले भने , ‘यसबाट हामी हर्षित र उत्साहित छौं ।’
स्थानीय स्वास्थ्यकर्मी बुद्धिमान बस्नेतले समग्र मार्ग कालोपत्रे भएर रंगेली–कानेपोखरीको पुरानो सम्बन्धले पुनर्जीवन पाउने व्यग्र प्रतिक्षामा रहेको बताए । कानेपोखरीबाट रंगेली हुँदै उत्तर–दक्षिण भारतीय सीमासम्मको २५.४ किमी सडकमध्ये १० किमीमा कालोपत्रे सकिएको हुलाकीमार्ग आयोजना इटहरीका प्रमुख विजयकुमार महतोले बताए । सरकारले तोकेको कुल ८८.७ करोड रुपैयाँको यो आयोजनालाई भारतीय निर्माण पक्षले २० प्रतिशत घटाएर ६५ करोड रुपैयाँमा ठेक्का लिएको हो ।
५ जुलाई २०१९ मा सकिनु पर्ने यो आयोजनामा कमसल सामग्रीको प्रयोग र ठेकेदार पक्षको लापरवाहीले पटकपटक काम रोकिंदै आएको थियो । ‘६५ प्रतिशत काम सकिएको छ,’उनले भने । २०११ मा सुरु भएको आयोजनामा ठेकेदारकै ढिलासुस्तीले पटकपटक म्याद थपिंदै आएको छ । ‘ठेकेदार पक्षले थप एक वर्षको म्याद मागेको छ, यसका लागि अनुमति प्रक्रियामै छ,’महतोले भने । उनका अनुसार अबको एक वर्षभन्दा कम अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य छ । मार्ग निर्माणकालागि कानेपोखरीदेखि रंगेलीसम्म जग्गा खरिदका लागि झन्डै पाँच करोड रुपैयाँ मुआब्जा पनि दिइसकिएको छ ।