इनरुवा । सुनसरी सदरमुकामको इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोतल भेटिएका छन्। लामो समयसम्म अस्पताल प्रशासनले फोहोर व्यवस्थापन गरेको थिएन। फोहोरका कारण अस्पताल छिर्नै नसक्ने अवस्था आएपछि स्थानीयको अग्रसरतामा सफाइ गर्दा ठूलो परिमाणमा रक्सीका बोत्तल भेटिएका हुन्।
फोहोर नउठ्दा अस्पताल क्षेत्र नै दुर्ग्न्धित थियो। बिरामीको रगतलगायतका उपचारमा प्रयोग सामाग्री अस्पताल परिसरमै फ्यालिएको थियो। फोहोरकै कारण विरामी थप संक्रमित बन्ने जोखिम बढ्दै गएपछि सामाजिक अभियन्ता दिनेश लम्साल, राकेश निरौला, सुशान्त बस्नेतका लगायतका अगुवा युवाहरुले अस्पतालमा थुप्रिएको संक्रमित जोखिमपूर्ण फोहोर संकलन गर्दा रक्सीका बोतल भेटिएका हुन्।
फोहोर उठाएर ट्याक्टरमा हाल्ने क्रममा बियरसहितका मदिराका बोत्तल पनि भेटिएका हुन्। अस्पतालको फोहोरमा मात्रै होइन, अस्पतालको छतमा समेत सयौँ बियर, वाइन र भोड्काका खाली बोत्तल भेटिएका छन्। बोत्तलहरु हेर्दा अस्पताल कर्मचारीले बेलाबेलामा ठूलै मदिराको पार्टी गर्ने गरेको अभियान्ताहरु बताउँछन् । स्थनीयबासीले फोहोर उठाइरहँदा अस्पताल प्रमुख बीना शाक्यसहित अस्पतालका चिकित्सक, प्रशासनका कर्मचारी परैबाट दर्शक बनेका थिए ।
बजेट नभएको बहानामा आफूलाई पन्छाउदै आएको अस्पतालले फोहोर व्यवस्थापनमा पहल लिएको थिएन। नियामानुसार अस्पताल भित्र उत्पादन हुने फोहोर त्यहीँ भित्रै व्यवस्थापन गर्नु पर्ने हुन्छ । अस्पतालको फोहोर बाहिर बिसर्जन गर्न पाइँदैन । त्यसैले फोहोर व्यवस्थापन गर्न सरकारले बजेटदिने गर्ने गर्दछ । अस्पताल प्रसासनले केही वर्ष अघिसम्म भट्टी बनाएर फोहर व्यवस्थापन गर्दै आएको थियो । तर सरकारले पठाउने फोहोर ब्यवस्थापनको बजेट भित्रभित्रै सकेर अस्पतालले भट्टी सञ्चालन गरेको छैन।