मुसहर समुदायका अतिविपन्न १७ परिवार लाई दसैँको लुगा उपहार - Pahilo Online

मुसहर समुदायका अतिविपन्न १७ परिवार लाई दसैँको लुगा उपहार

writer

झापा । बिर्तामोड नगरपालिका ३ र १० नम्बर वडामा बसोबास गर्ने मुसहर समुदायका अतिविपन्न १७ परिवारले दसैंको नयाँ लुगा पाएका छन् । लायन्स क्लब अफ बिर्तामोड लेडीले शनिबार बिहान मुसहर बस्तीमै गएर उनीहरूलाई दसैंको नयाँ लुगा दिएको हो । लायन्स क्लबकी सदस्य आरती लिम्बू श्रेष्ठले आफ्ना पितृहरू बुबा धनबहादुर लिम्बू, आमा पञ्चमति लिम्बू र काका धनकेशर लिम्बूको स्मृतिमा अतिविपन्न परिवारका मुसहर जातिलाई नयाँ लुगा वितरण गरेको बताइन् ।

१७ परिवारका सबै महिलालाई एक, एक थान गरी २५ थान साडी वितरण गरिएको छ । सबै पुरुषलाई एक, एक थान गरी २५ थान गम्छा, १३ जना बालिकालाई जामा र १० जना बालकलाई भेस्ट (टिसर्ट) वितरण गरेको श्रेष्ठले बताइन् । नयाँ साडी पाएपछि विमला ऋषिदेवले खुसी व्यक्त गरिन् । ‘दसैंका लागि नयाँ लुगा किन्ने पैसा थिएन । साडी र केटाकेटीले लुगा पाए । अब दसैंलाई कुनै चिन्ता छैन,’ उनले भनिन् । मञ्जु ऋषिदेवले संस्थाले दिएको साडी छठ पुजाका लागि ठूलो सहयोग भएको बताइन् ।

खोला र सडक किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर बस्ती सहर नजिकै भएर पनि पिछडिएको छ । बस्तीका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । पुरुषहरू दैनिक मादक पदार्थ सेवन गर्छन् । महिला प्रायः गृहिणी छन् । पुरुषले मात्र कमाएर ल्याएको आम्दानीले परिवार पाल्न गाह्रो रहेको मुसहर बस्ती विकास निर्माण समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए । पछिल्लो दुई वर्ष यता मुसहर बस्तीमा विभिन्न संघसंस्थाले शौचालय, खानेपानीको लागि ट्युबेल, सोलारबत्ती, बस्ती जोगाउन अन्धुवा खोलामा तटबन्ध, खोला वारपार गर्न फलामे पुलको व्यवस्था गरिदिएका छन् ।

बस्तीसम्म जाने बाटो छैन । बिजुली छैन । घरेलु हिंसा पनि व्याप्त छ । प्रजनन स्वास्थ्यबारे चेतनाको कमीले बर्से्नि बच्चा जन्माउने गरेका छन् । सीमान्तकृत एवं अतिविपन्न परिवारका मुसहरलाई दसैंको मुखमा नयाँ लुगा वितरण गरेको प्रति बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले लायन्स क्लबलाई धन्यवाद व्यक्त गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes