लगातार पहिरो खसेपछि कोसी राजमार्ग निर्माण ठप्प - Pahilo Online

लगातार पहिरो खसेपछि कोसी राजमार्ग निर्माण ठप्प

writer

संखुवासभा । वैशाख पहिलो साताबाट संखुवासभाको मकालु गाउँपालिकाको क्षेत्रमा नियमित पहिरो खसेपछि सडक निर्माणको रोकिएको हो  । लगातार पहिरो खसेपछि कोसी राजमार्ग अन्तर्गत दोभान बरुण नदी खण्डको सडक निर्माण ठप्प भएको छ  । यो खण्डमा सवारी साधन लैजान नसक्दा काम ठप्प भएको हो । नयाँबस्ती बरुण नदी खण्डमा पर्ने २७ किमि क्षेत्रमा पहिरो नियमित झरिरहेको स्थानीयले बताए । निर्माणका लागि लगिएका ठूला साधन पहिरो खसेपछि फ्याक्सिन्दा दोभानमा अलपत्र परेको निर्माण कम्पनीले जनाएको छ । यो खण्ड आशीष स्वामीनारायण आर्शीवाद जेभीले निर्माणको ठेक्का लिएको छ ।

पहिरोका कारण डोजर र अन्य सवारी साधनका लागि इन्धन राख्ने ट्यांकर राख्न नसकेको निर्माण कम्पनीका सन्तोष बस्नेतले बताए । ‘दोभानबाट नयाँ बस्तीसम्म धेरै स्थानमा पहिरो खसेको छ,’ उनले भने, ‘काम अघि बढाउन खोज्दा सकेनौं, वर्षापछि तीव्र गतिमा काम गर्नेछौं ।’ ‘ठूल्ठूला भीर र माटो बगिरहने भएकाले काम अघि बढाउन सकेनौं,’ बस्नेतले भने । निर्माण कम्पनीले नयाँबस्तीबाट बरुणसम्म सडक चौडा, ग्याविन पर्खाल, सवबेस लगायतको काम गर्नुपर्ने उनले बताए । दोभानबाट पहिरो खसेकाले उत्तरी क्षेत्र जाने सवारी साधनका लागि पनि साँझ ५ बजेदेखि बिहान ८ बजेसम्ममात्र एकतर्फी आवतजावत खुला गरिएको छ । दोभानबाट नयाँबस्तीसम्म पहिरो कटाएर निर्माण सामग्री लैजान नसकिने बस्नेतको भनाइ छ ।

उत्तर दक्षिण कोसी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले गएको वैशाखबाट यो क्षेत्रमा अत्यधिक पानी परेको बताए । उनले दोभानबाट नयाँ बस्तीसम्मको करिब २ किमि क्षेत्रका सडक पूरै बगाएको पनि बताए । ‘अहिले यही सडक मर्मत गरेर सञ्चालनका लागि काम भइरहेको छ,’ उनले भने, ‘वर्षाका बेला भनेजस्तो गरेर काम अघि बढाउन पाएनौं ।’ अहिले पनि यो क्षेत्रमा निरन्तर झरी परिरहेकाले काम गर्न समस्या भइरहेको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes