झापा जिल्लामा श्रंखलाबद्ध बम विस्फोट गराएको आरोपमा पक्राउ परेको ८ कार्यकर्ता सार्वजनिक - Pahilo Online

झापा जिल्लामा श्रंखलाबद्ध बम विस्फोट गराएको आरोपमा पक्राउ परेको ८ कार्यकर्ता सार्वजनिक

writer

झापा–झापा जिल्लामा श्रंखलाबद्ध बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरीसहित पक्राउ गरेका आठजना कार्यकर्ताको नाम सार्वजनिक गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले विप्लव कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्ताबेज लगायतका सामग्रीसहित उनीहरूको नाम मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पछिल्लो समयमा झापाका विभिन्न पालिकामा श्रंखलाबद्ध रूपमा बम पड्काएर जिल्ला नै आतंकित बनाएको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लवका बम बनाउने व्यक्तिसहित आठजना पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका १ बस्ने ३४ वर्षीय प्रवीण मिश्र (मनिष), जिल्ला सदस्य झापा हल्दीवारी गाउँपालिका ५ बस्ने ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भीमफेदी गाउँपालिका २ बस्ने २६ वर्षीय अनुल सारु मगर रहेका छन्। बिर्तामोडमा डेरा गरी बस्दै आएका सेक्रेटरी मनिष, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदारको काम र मगरले जापनिज भाषा सिक्न बसेको भन्दै ढाँटेर बस्दै आएका थिए। प्रहरीले तीनैजनालाई विशेष सूचनाको आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरेको हो। सेक्रेटरी मनिष र सदस्य पोखरेललाई सोमबार बिहान पक्राउ परेका थिए भने मगरलाई दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्ताबेजसहित प्रहरीले सोमबार साँझ उनकै डेराबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका मगर बम बनाउने काममा सक्रिय रहेको अनुसन्धानको क्रममा खुलेको उनको भनाइ छ। उनका अनुसार उनीहरूले भदौ २२ गते बिर्तामोड र गौरदाहमा बम विस्फोट गराएका थिए। त्यस्तै, प्रहरीले बिर्तामोडको वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेकाहरू पाँचथर जिल्ला इन्चार्ज ताप्लेजुङ त्रिवेणी गाउँपालिका(३ पञ्चमी टोल बस्ने २७ वर्षीय राजु दास, ताप्लेजुङ जिल्ला इन्चार्ज जिल्ला ताप्लेजुङ सिद्धिङबा गाउँपालिका ४ बस्ने ३५ वर्षीय सकल भन्ने सागर लिम्बू, मेची ब्युरो समन्वय समिति अध्यक्षका साथै केन्द्रीय सदस्य ताप्लेजुङ त्रिवेणी गाउँपालिका ५ दोभान गाउँ बस्ने २४ वर्षीय सन्देश भन्ने गणेश कार्की (ढोली) रहेका छन्।

त्यसैगरी, ताप्लेजुङ जिल्ला सेक्रेटरी (सचिव) सोही जिल्ला फक्तामलुङ गाउँपालिका २ खेजेनिम बस्ने ५५ वर्षीय नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य सोही जिल्ला फक्ताङलुङग गाउँपालिका २ बस्ने ३८ वर्षीय योगेश भन्ने यामबहादुर लिम्बू पनि रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनीहरूलाई प्रहरीले विशेष सूचनाको आधारमा दमकको एक होटलबाट पक्राउ गरेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes