मोरङ — प्रदेश १ को उदयपुर र प्रदेश २ को सिरहा क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न प्रदेशसभामा सांसद नारायणबहादुर मगरले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्दै उनले उदयपुरको उदयपुरगणी गाउँपालिका र कटारी नगरपालिकाको केही भूभाग प्रदेश दुईले आफ्नो भनेर दाबी गर्दा विवाद सिर्जना भएको बताए ।
उदयपुरको दक्षिणी चुरे क्षेत्रमा पर्ने उदयपुरगणी गापाको ५ र ७ नम्बर वार्ड र कटारी नपाको ६ नम्बर वार्डमा पर्ने केही भूभागलाई प्रदेश दुईले सिराहा जिल्लामा पर्ने भन्दै दाबी गरिरहेको भए पनि त्यसक्षेत्रका नागरिकको लालपुर्जामा उदयपुर नै उल्लेख गरिएको उनले बताए । त्यस क्षेत्रका जनताले पनि प्रदेश एकमै रहने बताउँदै आएकाले प्रदेश सरकारले तत्काल उक्त विवाद समाधान गर्न उनले माग गरे ।
सांसद उमिता विश्वकर्माले दोहोरो शिक्षा नीति अन्त्यका लागि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक विद्यालयमा सरकारले दिएका कतिपय शैक्षिक सामग्रीको उचित उपयोग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै सांसद लीला शुब्बाले धनकुटामा बसोबास गर्दै अठपहरिया राईहरूलाई अल्पशंख्यक, सिमान्तकृत वर्गमा सूचीकृत गर्न माग गरिन् । धनकुटामा मात्रै रहेका उनीहरूको आफ्नै भषा, संस्कृति र लिपि रहेकाले उनीहरूको संरक्षण गरिनुपर्ने उनले बताइन् । प्रदेश एकमा पर्यटक भित्र्याउने एउटा गतिलो माध्यम उनीहरू बन्न सक्ने भन्दै उनले सरकारलाई यसतर्फ ध्यान दिन माग गरिन् ।
प्रदेशसभामा अर्थ समितिका सभापति मोहनकुमार खड्काले समितिको प्रतिवेदन सहित ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पेस गरेका थिए । समितिले लगानी प्राधिकरण विधेयकको नामदेखि प्रस्तावना तथा ९१ वटा विषयमा संशोधन गर्नुपर्ने प्रतिवेदन पेस गरेको छ ।