खोटाङ — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडक नसकिँदै भत्कन थालेको छ । पिचको काम नसकिँदै टेवा पर्खाल, पुलको जिप र छेउ भत्कन थालेको हो ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सडक खण्डको (८८ किमि) मध्ये दारुलाडाँडा–दिक्तेलसम्मको नौ किमि मात्र सडक सकिएको छ । च्यानडाँडादेखि दिक्तेलसम्मको सडक चारवटा प्याकेजमा निर्माण भइरहेको हो । यसमध्ये एक नम्बर च्यानडाँडा–पेलुङसम्मको (१० किमि) ५५ प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किमि) ६० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किमि) ९० प्रतिशत मात्र काम भएको छ ।
चार नम्बर प्याकेज अन्तर्गत कालिखोला–दिक्तेल (९ किमि) सडक मात्र सकिएको हो । सकिएको सडक पनि भत्किन थालेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको छाकालुङ खोलामा निर्माण गरिएको पुल र त्यसको आसपासको सडक छेउसमेत भत्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा टेवापर्खाल भत्किएको छ ।
यसबाहेक अन्य दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको छ । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउँमा फिलिङमाटोमाथि नै पिच गरिएकाले चर्किएको छ । भत्किएको कल्भर्ड, चर्किएको पिच लगायतलाई टालटुल पारेर आँखा छल्न खोजिएको भन्दै यसप्रति ध्यान दिनु पर्ने स्थानीयको भनाइ छ ।
गुणस्तरहीन काम भएकाले सडक नसकिँदै भत्किएको जनप्रतिनिधिहरूले समेत गुनासो गरेका छन् । ‘सडक नसकिँदै भत्किन थालेको छ,’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का वडाअध्यक्ष माधव राईले भने, ‘गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्छ ।’
सडकको गुणस्तरबारे पटक–पटक ध्यानाकर्षण गराइए पनि अटेर गरेको दिक्तेल नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । ‘निर्माणमा सम्बद्ध निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर पटक–पटक गुणस्तरलाई ध्यान दिन अनुरोध गरिएको छ ।’ नगरप्रमुख रिजालले भने, ‘त्यति गर्दा पनि अटेर गरेकाले सम्बन्धित निकायमा लेखेर पठाउँछौं ।’
गौरबका आयोजना अन्तर्गतको सडक नसकिँदै भत्किन थालेपछि यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘गौरबको आयोजना भएकाले यसको गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन ।’ भट्टराईले भने, ‘गुणस्तरहीन सडक बनेकाले भत्किन थालेको र यसबारे सरकारको ध्यानाकर्षण गराउँछु ।’
यो सडकको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । उक्त कम्पनीसँग सम्झौता गर्दा उल्लेख गरिएको समय सीमा नाघिसकेको छ । सबै प्याकेजको निर्माण अवधि सकिए पनि आगामी असारसम्ममा सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे शेर्पाले बताए ।
उनका अनुसार हरेक प्याकेजको काम दुई वर्षमा सक्ने गरी सम्झौता भएको थियो । यसअन्तर्गत एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्ष्भित्र सक्ने सम्झौता गरिएको थियो । भूकम्प, सामग्री अभाव लगायतका कारणले ढिलाइ भएको शेर्पाको दाबी छ ।