इटहरी–इटहरी उपमहानगरका वडा नं. ४ ले शनिबार छुवाछुतविरुद्ध सहभोग कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा इटहरी नगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको कार्यक्रम छुवाछुत हटाउन सहयोगि हुने संविधानसभाकी सभासद् अनिता परियारले बताइन् । कार्यक्रममा बोल्दै नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको घटना सुनाए । ‘अझै पनि जातका आधारमा गरिने विभेद यथावत् छ,’ उनले भने ।
अभियानकर्मी डिवि शाह शंकरले छुवाछुत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान आवश्यक पर्नेमा जोड दिए । इटहरी १७ का वडाध्यक्ष भगवान लाल शाहले नागपञ्चमीको दिन अरु घरमा नाग टाँस्दै आएका व्यक्तिले आफनो घर भने छुटाएको बताए । छुवाछुत समाजले नै सृजना गरेकाले समाजले नै हटाउनुपर्नेमा जोड दिए ।
इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सदभाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको जानकारी दिए । मनकामना मन्दिर इटहरीमा आयोजित सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता बराइलीले गरे ।