
शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले खोलामा पुल निर्माण गर्न भागवत पासवानको अध्यक्षतामा एक निर्माण उपभोक्ता समिति गठन भयो । पूर्व सभासद लालबहादुर सुस्लिङ, वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडासदस्य खड्गबहादुर मगरलगायतको उपस्थितिमा रविन मगर सचिव रहने गरी ९ सदस्यीय समिति चयन गरेको हो ।

पिप्ले खोलामा पुल निर्माणका लागि पथरीशनिश्चरे वडा नं. ४ ले आर्थिक वर्ष २०७५÷७६ को वजेटबाट २४ लाख रुपैयाँ छुट्याएको थियो । सोही भेलाले पूर्व सभासद लालबहादुर सुस्लिङको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति समेत गठन गरेको थियो ।
पुल निर्माणका लागि वडाले विनियोजन गरेको २४ लाख रुपैयाँ पर्याप्त नभएकोले बाँकी ४ लाख रुपैयाँ नगरसंगको सहकार्यमा सम्पन्न गर्ने लक्ष लिइएको वडाध्यक्ष भण्डारीले बताए । यस्तै उक्त पुल निर्माण भएपछि साप्ताहिक रुपमा लाग्ने पथरीशनिश्चरेकै सबैभन्दा ठूलो पशु बजार कुशल बजारलाई मद्दत पुग्ने उनको भनाई छ ।

यस्तै, प्रगतिटोल राजकुमारी माझीको घरछेउबाट भविन्द्र थापाको घरहुँदै दक्षिण जाने बाटो स्तरोन्नतिका लागि घमण्डबहादुुर ठकुरीको अध्यक्षतामा अर्को निर्माण उपभोक्ता समिति गठन भएको छ । जसमा नेत्रबहादुर कार्की सचिव, हिमादेवी बस्नेत थापा कोषाध्यक्ष रहने गरी ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन भएको हो । उक्त कामको अनुगमन तथा मूल्यांकनका लागि भविन्द्र थापा संयोजक रहने गरी तीन सदस्यीय अनुगमन समिति समेत चयन गरिएको छ । सो बाटो स्तरोन्नतिका लागि वडाबाट ३ लाख रुपैयाँ विनियोजन भएको छ ।
सोही भेलाले स्थानीय सामुदायिक महिला भवनको अधुरो काम सम्पन्न गर्न भोलानाथ रिजालको अध्यक्षतामा निर्माण उपभोक्ता समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा पुष्पराज दाहाल, सचिवमा खगेन्द्रप्रसाद गौतम, कोषाध्यक्ष मीना गौतम चयन भएका छन् ।
उक्त सामुदायिक महिला भवन निर्माणका लागि वडाले ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
एकै दिन दुईवटा योजना शिलान्याश
वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले शनिबार दुईवटा योजनाको शिलान्यास गरेका छन् । जसमा राधाकृष्ण मन्दिरदेखि दक्षिण सख्वारा जाने बाटोमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । वडाले विनियोजन गरेको ३ लाख ५० हजार रुपैयाँबाट निर्माण हुन लागेको कल्भर्टको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सिलान्याश गरेका हुन् । उक्त कल्भर्ट निर्माणका लागि महेश कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।
सोही दिन वडाध्यक्ष भण्डारीले सिरिसेडाँडाबाट सिरिजंगा चोक जोड्ने करिव एक किलोमिटर बाटो स्तरोन्नती गर्ने कामको शिलान्यास गरेका छन् । बाटो मर्मत र ग्राभेल गर्नका लागि वडाबाट ४ लाख रुपैयाँ विनियोजन भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । भण्डारीले उक्त बाटो स्तरोन्नती भएपछि पथरीशनिश्चरेकै पुरानो किर्तिपुर बजारसम्म आवत जावत गर्न सहज हुने बताए ।