सांसद दुगडको उद्योगमा चर्को श्रम शोषण - Pahilo Online

सांसद दुगडको उद्योगमा चर्को श्रम शोषण

श्रम ऐनले तोकेको सेवा सुविधा मजदुरलाई दिन श्रम कार्यालयको निर्देशन

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा सांसद मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला पारेको छ ।

प्रतिनिधिसभाका सांसद दुगडले सञ्चालन गरेको उद्योगले श्रम ऐन पालना नगरेको अनुगमनको क्रममा भेटिएको थियो । बुढीगंगा गाउँपालिका–३ मा संचालन रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टर प्रालिले उत्पादन गर्नेे सेन्चुरी मसला, कुरमुरे, भूजिया उद्योगमा कार्यरत अधिकांश मजदुरले श्रम ऐनले तोकेजति सेवा सुविधा नपाएको देखिएको हो ।

गएको ५ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका स्थानीय अजयकुमार चौधरीले दैनिक ३ सय ९५ रूपैयाँ मात्र ज्याला पाउने गरेको बताए । उद्योगले श्रमिकलाई श्रम सम्झौतासमेत नगराइ काममा लगाउँदै आएको पाइएको छ । उद्योगमा काम गर्ने करिब ३ सय जना श्रमिकले घण्टा अनुसार काम गरेको ज्यालावाहेका अन्य कुनै सुविधा नपाएको बताएका छन् ।

सरकारले लागू गरेको श्रम ऐन अनुसार श्रमिकको न्यूनतम वेतन दैनिक ५ सय १७ रुपैयाँ छ । तर, ऐन कानुन निर्माण गर्ने जिम्मेवारी पाएका सांसदकै उद्योगमा चर्को श्रम शोषण देखिएको हो । दुगड तत्कालिन नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएका हुन् ।

श्रम कार्यालय विराटनगरले बुधबार मोरङको ४ वटा उद्योगहरू अनुगमन गर्दा अधिकांश उद्योगले श्रम ऐनले तोकेजति तलब र सेवा सुविधाहरू नदिएको पाइएको छ । बुढीगंगा–२ मा रहेको आरती स्ट्रिप प्रालि, बुढीगंगा ५ हात्तिमुडामा रहेको क्वालिटी नुडल्स, र विराटनगर १३ मा रहेको ट्राईकट इण्डष्ट्रिज प्रालिले उत्पादन गर्ने कपडा उद्योगमा टोलीले अनुगमन गरेको थियो । श्रम कार्यालयका प्रमुखसहित टेड्र यूनियनका प्रतिनिधि पुग्दा मजदुरहरूले श्रम ऐनले तोके अनुसारको तलब र विभिन्न सेवा सुविधा नपाएको भन्दै दुखेसो पोखेका थिए ।

उद्योगहरुले मजदुरहरूको श्रम शोषण गरेको, सम्झौताविना काममा लगाएको र न्युनतम् सेवा सुविधाहरू पनि नदिएको पाइएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले जानकारी दिनुभयो । अनुगमनको क्रममा आरती स्ट्रिप्सले ९० प्रतिशत भारतीय मजदुहरूलाई श्रम स्वीकृतिविनै काममा लगाएको पाइएको उहाँको भनाइ छ ।

भदौदेखि लागू भएको श्रम ऐनले ठेकेदारी प्रथाबाट श्रमिकलाई काममा लगाउन नपाउने प्रावाधन भएपनि अधिकांश उद्योगले ठेकेदारमार्फत मजदुरलाई काममा लगाएको पनि देखिएको छ । ‘श्रम ऐन कार्यान्वयमा समस्या देखियो । तत्काल श्रम ऐन लागु गर्न निर्देशन दिएको छु’ कार्यालय प्रमुख सञ्जेलले भन्नुयभो । पुनः अनुगमनमा आउँदा श्रम ऐन लागू नभएको पाइएमा कानुनी कार्वाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

अनुगमनमा नेपाल समाजवादी टे«ड यूनियन महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल टे«ड युनियन महासंघका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल टे«ड यूनियन मोरङका अध्यक्ष शुशिल कोइरालसहितको सहभागिता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes