एनजिओ प्रमुख योजना आयोगमा नियुक्त - Pahilo Online

एनजिओ प्रमुख योजना आयोगमा नियुक्त

प्रदेशमा रहेका विज्ञहरुलाई छाडेर एनजिओकर्मी नियुक्तिप्रति नेकपाभित्र असन्तुष्टि

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेश सरकारले मानबअधिकारको क्षेत्रमा काम गर्ने एनजिओ इन्सकेका अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोजकको उपाध्यक्ष नियुक्त गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्याकुरेललाई उपाध्यक्ष तथा पाँचथरका पूर्ण लक्सम र मोरङकी मिना भण्डारीलाई सदस्यमा नियुक्त गरेको हो ।

मानवअधिकारवादी संस्था इन्सेकमा सक्रिय हुँदै विराटनगरबाट २० वर्ष अगाडि काठमाडौं बसाई सरेका प्याकुरेललाई राज्यमन्त्रीसरहको सेवा सुविधा पाउनेगरी उपाध्यक्षमा नियुक्ति गरिएको हो । वाणिज्यशास्त्रका विद्यार्थी भएपनि प्याकुरेल योजना निर्माणका विज्ञ होइनन् । सम्बन्धित क्षेत्रका बिज्ञलाई छाडेर एनजिओमा सक्रिय रहेका प्याकुरेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेपछि प्रदेशभित्र रहेका नेकपा निकट बुद्धिजीविहरु असन्तुष्ट बनेका छन् ।

विषयविज्ञ भन्दा पनि राजनीतिमा प्रभाव राख्नेहरुलाई नियुक्ति गरेको देखिएको आर्थिक मामिलाका जानकार डा. अर्जुन बरालले बताउनुभयो । ‘उहाँहरुलाई जे सहज भयो त्यही गर्नुभएको होला, तर, प्याकुरेल विषय विज्ञ भने होइन’ उहाँलmे भन्नुभयो, ‘विज्ञलाई नियुक्ति गरेको भए राम्रो हुनेथियो ।’

प्रदेश सरकारको काम प्रभावकारी हुन नसक्नुको कारण मुख्यमन्त्री र मन्त्रीहरुको टिम बलियो नभएको भनेर आलोचना भइरहेको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सचिवालयकोे भूमिका राम्रो नभएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला योजना आयोगको नियुक्ति पनि विवादमा परेको हो । ‘सरकारका गतिविधि हेर्दा सफल हुने छाँट देखिएन,’ नेकपा निकट एक बुद्धिजीविले भने, ‘आर्थिक, भूगोल, कृषि, पर्यटन जस्ता क्षेत्रका विज्ञलाई ल्याएर राख्नुपर्ने योजना आयोगमा एनजिओकर्मीलाई राख्नु त्यसैको उदाहरण हो ।’

तत्कालिन नेकपा एमालेको मोरङ जिल्ला उपसचिव हुँदै विराटनगर उपमहानगरपालिकाको उपमेयर र संसदमा पराजित भएका प्याकुरेल २०५१ सालपछि केही समय विराटनगर जुटमिलको अध्यक्ष बनेका थिए । त्यसपछि काठमाडौं हान्निएका उनी उतैका स्थायी बासिन्दा हुन् ।

प्याकुरेलको परिवार तत्कालिन नेकपा एमाले निकट रहेर बारम्बार राज्यका उपल्लो पदधारण गर्ने र सेवा सुविधा प्राप्त गर्नेहरुमध्ये पर्दछ । उनका दाजु सुशील प्याकुरेल इन्सेक अध्यक्ष हुँदै तत्कालिन एमालेकै सिफारिसमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य र हाल दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको रुपमा रहेका छन् ।

उपाध्यक्षमा सिफारिस प्याकुरेलका भाई सुमन प्याकुरेल राष्ट्रिय सभाका सदस्य छन् भने उनका भान्जा कुन्दन अर्याल प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार रहेका छन् । विज्ञ नभएपनि उच्च राजनीतिक पहुँचकै कारण प्याकुरेल योजना आयोगको उपाध्यक्ष बन्न सफल भएका हुन् ।

प्रदेशमा नेकपा निकट आर्थिक र अन्य क्षेत्रका विज्ञहरु प्रसस्त भएपनि प्याकुरेलको नियुक्ति नेकपाभित्रै आलोचित बन्ने देखिएको छ । ५ सदस्य योजना आयोगमा उपाध्यक्षसहित तीन सदस्य पूर्वएमालेबाट र २ सदस्य पूर्वमाओवादीबाट नियुक्त गर्ने समझदारी भएको छ । जसअनुसार पूर्वएमाले कोटाबाट भण्डारी र पूर्वमाओवादी कोटाबाट लक्सम सदस्य नियुक्त भएका हुन् । आयोगमा दुई सदस्य नियुक्त हुन बाँकी छ । आयोगका सदस्यहरुले सहायकमन्त्र सरह सेवा सुविधा पाउनेछन् ।

पाँचथर घर भएका लक्सम बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट आर्थिक विकास विषयमा विद्यावारिधी गरिरहेका व्यक्ति हुन् । मोरङ इटहराकी भण्डारी एमबिएसम्मको अध्ययन गरेर एडिबीको कन्सल्टेन्टको रुपमा कार्यरत रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरु पनि हाल काठमाडौंमै बस्दै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes