मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा - Pahilo Online

मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा

संसदको रोष्ट्रमबाट मुख्यमन्त्रीले पत्रकारलाई भनेः स्तर कायम गर्नुहोस्

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै सञ्चारकर्मीमाथि संसदको रोष्टमबाटै गालीगलौज गर्नुभएको छ ।

वर्षे अधिवेशनको अन्त्यका लागि १ नम्बर प्रदेशसभा संसदलाई सम्बोधनको क्रममा मुख्यमन्त्री शेरधन राईले करिब १० मिनेट पत्रकारलाई गालीगलौज गर्न खर्चनुभएको थियो ।

मुख्यमन्त्रीले सपनामा देखेर प्रदेश सरकार र संसदबारे सञ्चारकर्मीले स्तरहिन टिकाटिप्पणी गरेको भन्दै आलोचना गर्नुभयो । उहाँले सके सरकारले गरेको कामको सकारात्मक कलम चलाउन र नसके स्तरहिन टिकाटिप्पणी नगर्न पनि सञ्चारकर्मीलाई चेतावनी दिनुभयो ।

‘विषयलाई हल्का ढंगले लिइयो, मिडियाको दुरुपयोग भयो,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘न्यूनतम व्यवसायिक मर्यादाको ख्याल नगरी त्यतिकै जस्तो पायो त्यस्तै कुरा लेख्ने र प्रकाशित गर्ने कुरा गरेर सहतमा टिकाटिप्पणी गर्ने र छताछुल्ल पार्ने काम भयो ।’ मुख्यमन्त्री राईले सञ्चारकर्मीबाट प्रदेशसभा सदस्यहरुलाई मानमर्दन भएको र लान्छित गर्ने काम भएको पनि बताउनुभयो ।

मुख्यमन्त्री राईले आफूहरु त्यतिकै नआएको भन्दै धम्कीपूर्ण भाषा पनि उल्लेख गर्नुभयो । ‘अस्वस्थ र नीच स्तरका अभिव्यक्ति र विचार सम्प्रेषण गरिएको छ, के ठानिरहेको छ प्रदेशसभा र मानीय सांसदहरुलाई ?,’ मुख्यमन्त्रीको आक्रोश थियो, ‘प्रदेश हाँक्ने उद्देश्यले आएका मानीयहरुलाई अपमान गर्ने लान्छित गर्ने काम सैह्य हुँदैन ।’

प्रदेशसभाका ९३ जना सांसदहरु प्रदेशसभाको राजधानी र नामाकरण गर्न अख्तियार प्राप्त भएको भन्दै उहाँले स्थायी राजधानी र नामको विषयमा कसैलाई पनि पजनी गर्ने अधिकार नभएको बताउनुभयो । ‘९३ जना सांसदहरु अख्तियार प्राप्त जनप्रतिनिधि हुन्,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘स्थायी राजधानी र नाम पजनी गर्ने अधिकार अरु कसैलाई हुँदैन, अलिकती कलम चलाउँदा विचार गरेर मर्यादालाई ख्याल गर्न जरुरी छ ।’ मुख्यमन्त्रीले सञ्चारकर्मीलाई इंगित गर्दै सपना देखेर समाचार नबनाउन पनि आग्रह गर्नुभयो । ‘सपना देखेर समाचार लेख्नुहुन्छ कि क्या हो तपाईहरु,’ मुख्यमन्त्रीले भन्नुभयो, ‘सके राम्रा कुराहरु लेख्नुहोला नसके कमजोर स्तरहिन प्रदर्शन नगर्नुहोला ।’ उहाँले पत्रकारले आफ्नो मर्यादा, हैसियत, स्तर र व्यवसायिकताबाट च्युत भएर कलम चलाएको आरोपसमेत लगाउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेशसभाको यही अधिवेशनबाट आफूहरुले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने तयारी गरेको भएपनि सभामुख र दलहरुसँगको छलफलपछि यो विषय रोकिएको दावी गर्नुभयो । सकेसम्म उच्चतम सहमतिको आधारमा प्रदेशसभाको तेस्रो अधिवेशनबाट नाम र राजधानीको टुंगो लगाउने उहाँको भनाइ थियो ।

सम्बोधनको अधिकांश समय पत्रकारलाई गाली गर्न खर्चनुभएका मुख्यमन्त्रीले कुन समाचार र कस्ता समाचार हल्का भए र स्तरहिन भयो भन्ने विषयमा भने केही खुलाउनुभएन । उहाँले सरकारकै जिम्मेवार व्यक्तिहरुले पनि मिडिया दुरुप्रयोग गरेर आत्मसन्तुष्टि लिने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । मिडिया प्रयोग गरेर नाम र राजधानीको विषयलाई छताछुल्ल बनाएको भन्दै भन्दै उहाँ संसदमा आक्रोशित रुपमा पेश हुनुभएको थियो ।

राजधानी विकेन्द्रीत गर्ने र प्रदेशसभा इटहरी लैजाने प्रस्तावसहित मुख्यमन्त्री राईले सो विषयमा छलफल सुरु गरेपछि नेकपाकै अधिकांश सांसद त्यस विरुद्ध उभिएका थिए । उहाँको राजधानी विकेन्द्रीत गर्ने प्रस्तावमा सरकारकै मन्त्रीहरुसमेत सहमत हुन नसकेपछि उहाँको प्रस्ताव संसदमा प्रवेश हुन नपाएकोले उहाँले आक्रोश व्यक्त गर्नुभएको एक सांसदले बताए ।

प्रदेशसभाको रोष्टममा उभिएर मुख्यमन्त्रीले सञ्चारकर्मीलाई गाली गरेको विषयमा सांसदहरुले भने पत्रकारहरुसँग माफी मागेका थिए । पत्रकारहरुले पनि मुख्यमन्त्रीले मर्यादाहिन रुपमा आफ्नो कमजोर ढाकछोप गर्न पत्रकारहरुमाथि जाइलागेको प्रतिक्रिया दिएका छन् ।

संसदको बैठकपछि सञ्चारकर्मीहरुले मुख्यमन्त्री र सभामुख प्रदिपकुमार भण्डारीलाई भेटेर मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनाएका थिए । भेटमा मुख्यमन्त्रीले आफ्नो सबै सञ्चारकर्मीलाई लाञ्छित गर्ने आसय नरहेको भन्दै बचाउ गर्दै आफ्नो अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन् ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes