नाम र राजधानीको टुंगो लागेन - Pahilo Online

नाम र राजधानीको टुंगो लागेन

मुख्यमन्त्रीको प्रस्ताव पारित नहुने भएपछि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारी

writer

पहिलो अनलाइन

विराटनगर । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको छ ।

विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र अन्य जिल्लामा सरकारका नियकाहरु विकेन्द्रीत गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा सत्तारुढ दल नेकपा नै सहमत हुन नसकेपछि त्यो प्रस्ताव नलगी प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको हो ।

राजधानी र प्रदेशको नामबारे एक सातादेखि चौतर्फी बहस भएपनि त्यसको औपचारिक प्रस्ताव प्रदेशसभामा प्रवेश भएको थिएन । सरकारले संसदको चालु अधिवेशनबाटै नाम राजधानीको टुंगो लगाउने बताउँदै आएको भएपनि त्यो प्रस्ताव नगली मंगलबारबाट प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य हुने भएको छ ।

प्रदेशको नाम र राजधानीबारे नेकपाभित्र फरक–फरक मत भएपनि राजधानी विकेन्द्रीत गर्न नहुने पक्षमा अधिकांश सांसद उभिएपछि मुख्यमन्त्री राई अफ्ठेरोमा पर्नुभएको थियो । सरकारका चारैजना मन्त्रीहरु विराटनगरमै राजधानी राख्ने पक्षमा उभिएको र अधिकांश सांसद राजधानी विकेन्द्रीत गर्न नहुने पक्षमा उभिएपछि मुख्यमन्त्री राईले पार्टीका शीर्ष नेतृत्वसँग परामर्श गर्न काठमाडौं जानुभएको थियो । तर, त्यहाँबाट पनि समस्या समाधान नहुने देखिएपछि संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको हो ।

नाम र राजधानीबारे निर्णय गर्न भन्दै नेकपाको संसदीय दलको बैठक २ दिन बसेर स्थगित भएको थियो । केही सांसद र मन्त्रीहरुले धारणा नराख्दै स्थगित भएको बैठकबाट ठोस निर्णय नहुने र मुख्यमन्त्रीको प्रस्ताव प्रदेशसभामा लैजाँदा पनि पारित हुननसक्ने खतरा बढेपछि मुख्यमन्त्रीले सो विषय स्थगित गर्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।

सरकारले संसद अधिवेशन अन्त्य गर्नको लागि प्रदेश प्रमुखलाई सोमबार नै पत्र लेखेको छ । अब प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने पत्र सभामुखलाई मंगलबार पठाएपछि अधिवेशन अन्त्य हुनेछ । मंगलबार ११ बजेको संसद बैठकमा सभामुखले प्रदेश प्रमुखको पत्र बाचन गरेपछि संसदको चालु अधिवेशन अन्त्य हुनेछ ।

नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले चालु अधिवेशनमा नाम र राजधानीको विषय टुंगो लगाउन समय अभाब भएकोले हिउँदे अधिवेशनमा यसको निर्णय गर्नेगरी चालु अधिवेशन अन्त्य गर्न लागेको जानकारी दिनुभयो । मुख्यमन्त्रीले बैठक लम्ब्याएर चालु अधिवेशनमै त्यो विषय टुंगो लगाउने प्रयास गरेपनि दशैं नजिकिएको कारण पनि संसद अन्त्य गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

संसद अधिवेशन अन्त्य गर्ने बारेमा मुख्यमन्त्रीले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । बैठकमा दलहरुले पनि दशैं, तिहार, छठ लगायतका चाडपर्व आएको भन्दै यो विषयलाई थाती राख्ने सुझाव दिएका थिए । सोही आधारमा संसदको वर्षे अधिवेशन अन्त्य गर्ने सहमति भएको हो ।

प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउने विषय सामान्य नभएको भन्दै नेकपा संसदीय दलका उपनेता आङ्बुहाङले २ वटा संविधानसभाले किनारा नलगाएको विषयमा पर्याप्त बहस र छलफलको खाँचो रहेको बताउनुभयो । अब हिँउदे अधिवेशनमा सहमतिकै आधारमा यो विषय टुंगो लगाउन पहल गरिने उहाँको भनाइ छ ।

नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्कीले सर्वदलीय बैठकमा मुख्यमन्त्रीले नाम र राजधानीको विषयमा सहमति खोज्न समय लाग्ने भन्दै संसद अन्त्य गर्ने प्रस्ताव गरेको जानकारी दिनुभयो । मुख्यमन्त्रीले आफ्नो प्रस्ताव पारित नहुने अवस्था देखेपछि सर्वदलीय बैठकमा संसद अन्त्यको प्रस्ताव गरेपछि आपूmहरुले पनि सहमति दिएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले गएको असारमै नाम राजधानीको टुंगो लगाउने बताएको थियो । त्यसपछि साउन, भदौ हुँदै असोजभित्र त्यसको टुंगो लगाउने सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले बताउँदै आएका थिए । तर, सरकारले अन्तिम समयमा मात्र त्यसबारे छलफल थालेर प्रस्ताव नै नलगी संसद अधिवेशन अन्त्यको तयारी गरेपछि त्यो विषय अझै अलपत्र बनेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes