संसदमा नाम र राजधानीकै बहस - Pahilo Online

संसदमा नाम र राजधानीकै बहस

संसदमा औपचारिक रुपमा विषय प्रवेश भएन/ नेकपा पनि अनिर्णित

writer

पहिलो अनलाइन

विराटनगर । औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ ।

प्रदेशसभामा दुइतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र प्रदेशको नाम र राजधानीको विषयमा छलफल सुरु भएपछि संसदमा समेत त्यो विषयमा बहस भइरहेको छ ।

संसदको सुन्य समय र विशेष समयमा मात्रै नभएर विधेयकमाथिको छलफलमा पनि सांसदहरुले राजधानी र नामांकरणकै विषय उठाउन थालेका छन् । संसदमा अन्य जनसरोकारका विषय उठ्न छाडेर नाम र राजधानीकै विषय उठिरहेपनि त्यसबारे निर्णय गर्न बसेको नेकपा संसदीय दलको बैठक स्थगित भएपछि पुनः बस्न सकेको छैन । जसले गर्दा यो विषयमा थप अन्यौल बढेको छ ।

प्रदेशको राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गरेपछि यो विषयले संसदभित्र र बाहिर पनि तरङ्ग छ । राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा सांसदहरु उभिएपनि कहाँ राख्ने भन्नेमा एकमत हुन नसक्ने अवस्था रहेकोले विकेन्द्रीत नै समस्याको समाधान भएको मुख्यमन्त्रीको अडान रहँदै आएको छ । तर, संसदीय दलमा निर्णय हुन नसक्ने अवस्था आएपछि मुख्यमन्त्री राईले पार्टी नेतृत्वसँग त्यसबारे परामर्श गर्न अहिले काठमाडौं जानुभएको छ ।

प्रदेशसभाको चालु अधिवेशनमै नाम र राजधानीको विषय टुंगो लगाउने सरकारले बताउँदै आएको छ । तर, दशै सुरु हुनलाग्दा सो विषय संसदमा प्रवेश गरेको छैन । सांसद बैठकमा भने सांसदहरुले सोही विषयमा केन्द्रित हुन थालेका छन् ।

आइतबार प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसद ताहिर मिया अंसारीले राजधानी जहाँ भएपनि विकेन्द्रीत गर्न नहुने बताउनुभयो । प्रदेश सरकारका सबै निकाय एकै ठाउँमा हुनुपर्नेमा जोड दिँदै उहाँले विकेन्द्रीत गर्दा सरकार, संसद र जनतालाई पनि सास्ती हुने दावी गर्नुभयो ।

अर्का सांसद शान्ता पौडेलले पनि मन्त्रालय र प्रदेशसभा अलग–अलग स्थानमा राख्नु अव्यवहारिक हुने भन्दै एकै ठाउँ राख्न माग गर्नुभयो । सांसद बलबहादुर साम्सुहाङले भने राजधानी र नामको विषयमा छलफल सुरु भएपछि सांसदहरुलाइ सुरक्षा थ्रेट बढेकोले सरकारसँग सुरक्षा माग गर्नुभयो । आफूले भने अनुसार भएन भने खतरा हुन्छ भन्ने अभिव्यक्ति संसदभित्रै र बाहिर पनि आइरहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शुन्य समयमा मात्रै नभएर खेलकुद विधेयक माथिको शैद्धान्तिक छलफलका क्रममा समेत सांसद सरीता थापाले पनि राजधानी र प्रदेशको नाम छिटो टुङ्ग्याउन माग गर्नुभयो । जनताले यही विषयमा बारम्बार प्रश्न गर्ने गरेको भन्दै उहाँले नाम रारजधानीको विषयमा बोल्न थालेपछि सभामुख प्रदिपकुमार भण्डारीले विषयवस्तुमा केन्द्रीत हुन रुलिङ गर्नुपरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes