हाईलाइफको सबै कागजपत्र झिकाइयो - Pahilo Online

हाईलाइफको सबै कागजपत्र झिकाइयो

श्रमशोषण गर्ने उद्योगमाथि थप कार्वाही गर्ने श्रम कार्यालयको तयारी

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालित हाईलाइफ चप्पल उद्योग अर्थात सुरभी पोलिमर्स प्रालिले श्रमशोषण गरेको पाइएपछि श्रम कार्यालय विराटनगरले सम्पूर्ण काजगात पेश गर्न आदेश गरेको छ ।

अनुगमनको क्रममा वर्षौदेखि उद्योगमा कार्यरत मजदुरहरुको श्रमशोषण गरेको र सरकारले तोकेको न्युनतम् पारिश्रमिक नदिएको पाइएपछि श्रम कार्यालयले सम्पूर्ण कागजपत्र झिकाउन आदेश गरेको हो ।

कार्यालयले उद्योगलाई आफ्नो ब्यालेन्स सिट, सेलरी शिप, श्रमिकको हाजिरी रजिष्टर, पारिश्रमिक भुक्तानी गरेको भरपाईसमेत एक साताभित्र श्रम कार्यालयमा बुझाउन आदेश दिएको हो । चप्पल उद्योगले श्रमिकहरुको व्यापक रुपमा श्रम शोषण गर्ने गरेको अनुगमनको क्रममा फेला परेपछि उसका कागजपत्र झिकाएको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले जानकारी दिनुभयो ।

कार्यालयमा कागजपत्र आएपछि थप कार्वाहीको प्रक्रिया अगाडि बढाउने श्रम कार्यालयले जनाएको छ । श्रमिकलाई भुक्तानी गरेको भरपाइमा श्रम ऐनले तोकेजति तलब नदिएको देखिए लागू गर्न श्रम कार्यालयले आदेश दिनेछ । उद्योगले श्रम ऐन लागू नगरे बैंक खाता रोक्का गर्नेदेखि चलअचल सम्पती रोक्का गर्न सम्बन्धित निकायमा पत्रचार गर्ने कार्यालय प्रमुख गोपले बताउनुभयो ।

करिब २ सय जना कार्यरत मजदुर रहेको उद्योगमा वर्षौदेखि श्रम शोषण भइरहेको श्रम कार्यालय र मजदुर प्रतिनिधिले गरेको अनुगमनको क्रममा देखिएको थियो । उद्योगले श्रमिकलाई श्रम सम्झौतासमेत नगराई काममा लगाएको पाइएको थियो ।

उद्योगमा अनुगमन टोली आएको थाहा पाएपछि मेनेजर कैशाल मण्डलले आफ्नो कर्तुत सार्वजनिक हुने डरले श्रमिकलाई एउटा कोठामा थुनेर राखेका थिए । अनुगमन टोलीलाई श्रम शोषण गरेको पोल खुल्ने डरले करिब ५० जना भन्दा बढी श्रमिकलाई एउटा कोठामा थुनेर राखेको अनुगमनको क्रममा फेला परेको थियो ।

अनुगमनमा नेपाल समाजवादी टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल टे«ड युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल टे«ड युनियन मोरङका अध्यक्ष शुशिल कोइरालको पनि सहभागिता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes