डाक्टर छैनन्, पियन नियुक्तिको हतारो - Pahilo Online

डाक्टर छैनन्, पियन नियुक्तिको हतारो

सामाजिक विकास मन्त्रीको आदेशमा कोशी अञ्चल अस्पतालमा १४ सहयोगी नियुक्त

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालम दरबन्दी अनुसार दक्ष चिकित्सकको अभाब भएको बेला प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा १४ जना कार्यालय सहयोगी नियुक्त भएको छ ।

कोशी अञ्चल अस्पतालमा अभाब भएका चिकित्सक नियुक्तको प्रक्रिया सुरु नगरेको मन्त्रालयले कार्यालय सहयोगी नियुक्तिमा भने हतारो देखाएको हो ।

अस्पतालको विकास समिति खारेज भएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कार्यालय सहयोगी नियुक्त गरेको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनमा मन्त्रालयको लेटरप्याडबाटै आएको सिफारिसको आधारमा अस्पतालले कार्यालय सहयोगी नियुक्त गरिसकेको छ ।

मन्त्री घिमिरेको निजी सचिबालयको तर्फबाट हिक्मतबहादुर बस्नेतले लेखेको पत्रका आधारमा पत्रमा उल्लेखित व्यक्तिहरुलाई अस्पतालले सहयोगी नियुक्त गरेको जनाएको छ


। पत्रमा उल्लेख भए अनुसार ११ जना कार्यालय सहयोगी र एक जना सहायक डाइटिसियन नियुक्त गरेको अस्पतालले जनाएको छ । सोही लटमा अस्पताल प्रशासनले पनि २ जना कार्यालय सहयोगी नियुक्त गरेको छ ।

मन्त्रालयले कार्यालय सहयोगीमा सुवास निरौला, सीतादेवि कामत, अनिरुद्र राजवंशी, दिनेश कामत, मो.जावेद आलम, मैयादेवि मैनाली,  जयनारायण ऋषिदेव, हरिप्रिया नेपाल, रामकृष्ण राजवंशी, कविता कार्की, अमिता कामत र डाइटिसियनमा समिक्षा दुलाललाई नियुक्ति गर्न अस्पताललाई भदौ २९ गते पत्र लेखेको थियो । सोही पत्रका आधारमा असोज १ गतेबाट उनीहरु नियुक्त भएका हुन् ।

अस्पताल प्रशासनले मन्त्रालयको पत्रका आधारमा टिप्पणी उठाएर नियुक्ति गरेको बताएको छ । ‘मन्त्रालयका मन्त्रीज्यू समक्ष अस्पतालको कार्यालय सहयोगी भइ काम गर्ने अवसर पाउँ भनी निवेदन दिएका उल्लेखित व्यक्तिहरुलाई नियुक्त गर्न’ मन्त्रालयले पत्र लेखेको थियो । उनीहरुलाई तत्काल एक महिनाका लागि भनेर सेवा करारमा नियुक्त गरिएको हो ।

मेडिकल कलेजको रुपमा विस्तार गर्ने तयारीमा रहेको यस अस्पतालबाट सर्वसाधारणले चिकित्सक अभावमा प्रभावकारी सेवा प्राप्त गर्न सकेका छैनन् । कोशी अञ्चल अस्पतालमा स्वीकृत दरबन्दी मध्ये करिव ४५ प्रतिशत चिकित्सकको पदपुर्ती हुन सकेको छैन । अस्पतालमा ३६ जना डाक्टरको दरबन्दी खाली रहेको अस्पताल प्रशासनले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes