एसपी खनाललाई पनि छोड्न आदेश - Pahilo Online

एसपी खनाललाई पनि छोड्न आदेश

सुन तस्करी र सनम हत्या प्रकरणमा उच्च प्रहरी अधिकारी उच्च अदालतबाट धमाधम छुट्दै

writer

पहिलो अनलाइन

विराटनगर । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकृतहरुलाई उच्च अदालत विराटनगरले धमाधम रिहा गर्न आदेश दिएको छ ।

प्रहरीको मिलेमतोमा तस्करी र सनमको हत्या भएको भन्दै गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दोषी ठहर गरेकाहरुलाई जिल्ला अदालत मोरङले पनि पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेशपछि उच्च अदालतमा अधिकांशले पुनराबेदन गरेकोमा सो काण्डमा मुछिएका उच्च तहका प्रहरी कर्मचारीहरुलाई अदालतले धमाधम रिहा गर्न आदेश दिएको हो । उच्चको आदेशबाट यसअघि निलम्बित डिएसपी प्रजित केसी, निलम्बित एसएसपी दिवस लोहनी रिहा भइसकेका छन् भने मंगलबार एसपी विकासराज खनाललाई पनि साधरण तारेखमा छोड्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीशद्वय नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेश उल्ट्याउँदै खनाललाई साधारण तारेकखमा छोड्न आदेश दिएको हो । जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिँदा साधरण तारिकमा राखेर मुद्दाको कारबाही अगाडि बढाउन उच्च अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार नारयण रेग्मीले जानकारी दिनुभयो ।

खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोड्न मागसहित असार ७ गते १७ नम्बर गरेका थिए । खनाल पक्राउ पर्नुअघि मकावनपुर प्रहरी प्रमुख रहेका थिए । सुन तस्करीका मुख्य आरोपि मानिएका चुडामुणी उप्रेति गोरेबाट खनालले विभिन्न मितिमा लाखौं रकम लिएको अनुसन्धान समितिले जनाएको थियो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले अनुसन्धान गर्दा खनालसहितका उच्च प्रहरी अधिकृतहरुले उप्रेतीसँग रकम लिएर तस्करीमा सहयोग गरेको रजिष्टरसमेत फेला पारेको थियो ।

सुनकाण्डमा जिल्ला अदालतबाट १५ हजार धरौटीमा छाडिएका प्रहरी जवान विष्णुबहादुर खड्का र सादा तारेखमा छाडिएका प्रहरी हबल्दार अमरबहादुर थापालाई भने उच्च अदालतले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको हकमा जिल्लाको आदेश सदर गर्दै उच्चले थुनामै राख्ने आदेश गरेको छ ।

मुद्दाका अभियुक्तहरु एयरलाईन्स कर्मचारी तुलाराम थारु र गोरेका सहयोगी लाक्पा शेर्पाको हकमा यसअघि नै उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको छ । यस्तै मुद्दाका अभियुक्तहरु टेकराज मल्ल, राजनकुमार, महाबिर गोल्यान, सम्बिरप्रसाद तोलांगे, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापालाई उच्चले थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको छ भने गोरेका सहयोगी रामकुमार तिवारीलाई ५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

कस्तो आरोप थियो प्रहरीलाई ?
साँढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित समितिले ३८ क्वीन्टल सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेपछि प्रहरी अधिकृतहरु पक्राउ परेका थिए । रजिष्ट्ररमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नामसमेत छ । सुन तस्करको समूहले तत्कालिन विमानस्थल प्रहरीसँगको मिलेमतोमा तस्करी गरेको र त्यसको लागि २ करोड २० लाख ७७ हजार रुपैयाँ खर्च गरेको अनुसन्धान समितिको दावी छ ।

उच्च अदालतबाट साधारण तारेखमा रिहा भएका डिएसपी केसी सुन तस्करको अनुसन्धान गर्ने भन्दै पूर्व स्थानीय प्रहरी युनिटलाई खबरसमेत नगरी आएका थिए । उनी सनम शाक्यको शवसँगै एक दिन इटहरीको होटलमा बसेर भोलिपल्ट विराटनगरबाट शब बरामद भएको ‘नाटक’ रच्ने मुख्य पात्र थिए ।

एसएसपी लोहनी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका प्रमुख थिए । लोहनीसहित महाशाखाका डिएसपी केसी र सई बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो । उनकै योजनामा डिएसपी केसी पूर्व आएका थिए ।

एसपी खनालले भने शनम शाक्यको शव लुकाउन समेत गोरेलाई सल्लाह दिएको फोन संवादबाट खुलेको थियो । गोरेको नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको र त्यसमा सहयोग गरेवापत एसपी खनालले दुई पटकमा ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes