मोरङ नेकपाको एकतामा सहमति - Pahilo Online

मोरङ नेकपाको एकतामा सहमति

अध्यक्ष पोखरेल र सचिवमा उप्रेतीको संभावना/जिल्ला कमिटिमा पूर्वएमालेबाट ११० र पूर्वमाओवादीबाट ७५ जना

writer

पहिलो अनलाइन

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेको छ ।

पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रबीच केन्द्रमा एकता भएको ३ महिनापछि प्रदेश र जिल्ला तहमा पार्टी एकताको अन्तिम तयारी भइरहेको छ ।

मोरङमा दुई पार्टीबीच एकताको बिधि कार्यदलले टुंगो लगाएको छ । मंगलबार अबेरसम्म काठमाडौंमै बसेको कार्यदलको बैठकले एकताको बिधि तय गरेको कार्यदल सदस्य तथा तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपी अछामीले जानकारी दिनुभयो ।

मोरङको जिल्ला कमिटि १८५ सदस्यीय बन्ने र त्यसमा पूर्व एमालेबाट ११० र पूर्वमाओवादीबाट ७५ जना रहने सहमति कार्यदलमा भएको छ । यसैगरी जिल्लाको अध्यक्ष पूर्वएमालेले लिने र सचिब पूर्वमाओवादीले लिने पनि सहमति कार्यदलमा भएको छ । कार्यदलमा पूर्वएमालेबाट विनोद ढकाल र महेश रेग्मी तथा पूर्व माओवादीबाट गोपी अछामी र कुशल लिम्बू थिए ।

मोरङका ६० र ४० प्रतिशतका आधारमा एकता गर्ने सहमति भएको हो । सहमति अनुसार आफ्नो भागमा परेका सदस्यहको नाम तयार गर्ने काम भइरहेको नेताहरुले बताएका छन् । नामसहितको प्रतिवेदन कार्यदलले प्रदेश कार्यदलमा बुझाउनेछ । जिल्ला कार्यदलमा भएको सहमतिलाई प्रदेश हुँदै केन्द्रीय सचिबालयमा पेश हुनेछ । त्यसको अन्तिम टुंगो भने सचिबालयले लगाउने नेताहरुले बताएका छन् ।

जिल्ला कार्यदलमा अध्यक्ष र सचिब कसले लिने भन्ने टुंगो भएपनि इञ्जार्ज र सह–इञ्चार्जबारे सहमति हुन सकेन । केन्द्रीय तह अनुसार अध्यक्ष लिनेलाई सह–इञ्चार्ज र सचिब लिनेलाई इञ्चार्ज दिनेगरी छलफल भइरहेकोले पूर्वमाओवादीले इञ्चार्जमा दावी गरेको छ । पूर्वएमालेले भने जिल्लाको उपस्थितिको आधारमा इञ्चार्जमा पनि दावी गरिरहेको छ । जिल्ला कार्यदलमा सहमति नभएकोले इञ्चार्ज र सहइञ्चार्जको टुंगो भने अब प्रदेश कार्यदलले लगाउने भएको छ ।

जिल्ला तहको एकता सकिएपछि १७ स्थानीय तह र जनवर्गीय संगठनहरुको एकता प्रक्रियाले गति लिने देखिएको छ । त्यस विषयमा छिट्टै निर्णय गर्ने नेताहरुले बताएका छन् । मोरङसहित प्रदेशका अन्य १३ वटै जिल्लाको एकताको बिधि पनि आजभोलि नै टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

एकताको सहमति जुटेसँगै मोरङको अध्यक्ष र सचिब एउटै भूगोलको हुने संभावना देखिएको छ । अध्यक्षमा पूर्वएमालेका जिल्ला सचिब ऋषिकेश पोखरेल र सचिबमा पूर्वमाओवादीका जिल्ला सहसंयोजक गणेश उप्रेतीको करिब निश्चित रहेको नेताहरुले बताएका छन् । उनीहरु दुबैजना मोरङ क्षेत्र नं. २ बाट गएको निर्वाचनमा पराजित भएका उम्मेदवार हुन् । पोखरेल प्रतिनिधिसभा र उप्रेती प्रदेशसभाका उम्मेदवार थिए ।

दुबै पार्टीका तत्कालिन जिल्ला अध्यक्षहरु विनोद ढकाल र गोपी अछामी पार्टीको केन्द्रीय सदस्य रहेकोले उनीहरु जिल्ला नेतृत्वमा नरहने भएकोले पोखरेल र उप्रेतीले अवसर पाउने भएका हुन् । यद्यपी अध्यक्षमा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रामलाल साहको पनि दावी छ । केन्द्रीय सदस्य नरहेकाबाट जिल्ला अध्यक्ष र सचिब चयन गर्ने पार्टीको कार्यबिधि भएकोले अन्य नेताहरुले अवसर पाउने भएका हुन् ।

जिल्लाको इन्चार्ज र सह–इन्चार्जको भागबण्डा भने प्रदेशले गरेको सिफारिसको आधारमा केन्द्रीय सचिबालयले गर्ने भएको छ । इन्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी विनोद ढकाल र गोपी अछामीले पाउने संभावना छ ।

यसअघि नै प्रदेश १ को एकता गर्न संख्यामा भने सहमति भइसकेको छ । प्रदेश कमिटि २०७ सदस्यीय रहने र त्यसमा पूर्व एमालेबाट १२२ तथा पूर्व माओवादीबाट ८५ जना रहने सहमति भएको छ । पूर्वएमालेका भीम आचार्य र शेरधन राई तथा पूर्वमाओवादीका राम कार्की र सावित्रीकुमार काफ्ले सम्मिलित प्रदेश एकता कार्यदलले प्रदेश कमिटिको अध्यक्ष, सचिब, इञ्चार्ज र सहइञ्चार्जको भागबण्डा भने लगाउन सकेको छैन । यद्यपी प्रदेशको अध्यक्ष पूर्वएमालेका देबराज घिमिरे र सचिब पूर्वमाओवादीका साबित्रीकुमार काफ्ले हुने संभावना रहेको छ ।

प्रदेश कमिटिमा मोरङका २५ जनाभन्दा बढि अटाउने भएका छन् । पूर्वएमालेबाट १५ जनाभन्दा धेरै र पूर्वमाओवादीबाट १० जना प्रदेश कमिटिमा पर्ने भएका छन् । पूर्वएमालेबाट प्रदेश कमिटिमा रहनेहरुको सुची अन्तिम भइनसकेको कार्यदलका सदस्य महेश रेग्मीले जानकारी दिनुभयो ।

पूर्वमाओवादीले भने १० जनाको सुची टुंगो लगाएर सिफारिस गरेको छ । पूर्वमाओवादीबाट मोरङका कुशल लिम्बू, गणेश उप्रेती, हेम कार्की, अरुण सुन्दास, खेम भट्टराई, भोगेन्द्र यादव, अमनलाल मोदी, बिजय विश्वास, गिता तिम्सिना र विनिता घिमिरे प्रदेश कमिटिमा रहने भएका छन् ।

मा प्रकाशित

1 thought on “मोरङ नेकपाको एकतामा सहमति

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes