बम विष्फोटको घटना रहस्यमय बन्दै - Pahilo Online

बम विष्फोटको घटना रहस्यमय बन्दै

महानगरको सिसिटीभीको हार्डडिक्स खाली भेटियो

writer

विराटनगर । गत आइतबार विराटनगर महानगरपालिकाभित्र भएको बम विष्फोटको घटना रहस्यमय बनेको छ ।

बम विष्फोटको आरोपमा पक्राउ परेका हरु निर्दाेश देखिएको र महानगरको सीसी टिभिमा कुनैपनि रेकर्ड फेला नपरेकोले घटना रहस्यमयी बनेको हो ।

बम विष्फोटको घटना नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको आशंकामा प्रहरीले सो पार्टीका केही कार्यकर्तासहित ९ जनालाई पक्राउ गरेको थियो । तर, घटनामा उनीहरुको संलग्नता पुष्टि नभएकोले क्रमशः प्रहरीले उनीहरुलाई थुनामुक्त गरिरहेको छ ।

पक्राउ परेकाहरुको घटनामा संलग्नता नदेखिएपछि महानगरको सीसी टिभी फ्ुटेजबाट दोषीसम्म पुग्ने प्रहरीको अपेक्षा थियो । कार्यालयभित्र भएको घटना अनुसन्धानको प्रहरीले महानगरको सीसीटिभिको रेकर्ड राखिने कम्प्युटरको हार्डडिक्स लिएर गएको थियो । तर, हार्डडिक्समा कुनैपनि फुटेज नदेखेपछि प्रहरी आफै छक्क परेको छ ।

महानगरमा ८ वटा सीसी क्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरीक्षण गर्ने गरेका थिए । पराजुलीका अनुसार महानगरको सीसीटिभी अपडेट थियो र रेकर्ड पनि नियमित थियो । तर, बम विष्फोटपछि प्रहरीले लगेको सीसीटीभीको रेकर्ड राखिएको कम्युटरको हार्डडिक्समा कुनै पनि रेकर्ड फेला नपरेको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले बताउनुभयो ।

महानगरले सीसी टिभि जडान गरेको भएपनि रेकर्डिङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि रेकर्ड नभएको प्रहरीले जनाएको छ । सीसीटीभीको रेकर्ड नभेट्दा अनुसन्धान लम्बिएको एसपी केसीले बताउनुभयो ।

महानगर प्रमुख पराजुलीले भने सीसीटीभीको फुटेज रेकर्ड नहुने कुरा असम्भव रहेको दावी गर्नुभएको छ । आफूले घटनाभन्दा केहि समय अघि हेर्दा सीसी टिभि रेकर्ड अपडेट रहेको दावी गर्दै उहाँले कसरी अहिले खाली देखियो भन्नेतर्फ पनि अनुसन्धान गर्नुपर्ने बताउनुभयो । बम पड्काउनकै लागि रेकर्ड बन्द गरिएको हो भने पनि त्यसको प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रहरी र महानगर प्रमुखको सीसी फुटेज बारेको फरक–फरक भनाइले घटनालाई थप रहस्यमय बनाएको छ । सो घटना विप्लब नेतृत्वको नेकपाले गराएको आशंका प्रहरीले गरेपनि सो पार्टीले खण्डन गरेको थियो । दिनदहाडै अति व्यस्त कार्यालयमा बाम विष्फोट हुनु र महानगरको सीसीटीभीमा त्यसको रेकर्ड नहुनुले महानगरकै कर्मचारीको मिलेमतोमा घटना भएको त हैन भन्ने आशंका पैदा भएको छ ।

गत आइतवार कार्यालय समयमा महानगरको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडिको सेवाग्राही बस्ने स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढने गाडीको सिसामा क्षति भएको थियो ।
फोटो

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes