चौतर्फी विरोधपछि पछि हट्यो महानगर - Pahilo Online

चौतर्फी विरोधपछि पछि हट्यो महानगर

बृद्धि गरिएको करको दर घट्यो/करारमा नगर प्रहरी र कर्मचारी नियुक्त गर्ने निर्णय

writer

पहिलो अनलाइन

विराटनगर । चौतर्फी विरोधपछि विराटनगर महानगरपालिकाले विभिन्न शीर्षकमा लगाएको कर र सेवाशुल्क परिमार्जन गरेको छ । नगरपालिकाको सोमबार बसेको बोर्ड बैठकले विभिन्न शीर्षकमा कर परिमार्जनको निर्णय गरेको थियो ।

सोमबारको निर्णयका आधारमा मंगलबार बसेको बोर्ड बैठकमा नागरिकता सिफारिस र जन्म तथा मृत्यु दर्ता निःशुल्क गर्नेसहित विभिन्न शिर्षकका कर र सेवाशुलक घटाउने प्रस्ताव पारित गरेको हो । महानरपालिकाको दोस्रो नगरसभाबाट पारित आर्थिक ऐन, २०७५ ले निर्धारण गरेको राजस्वको दररेट आगामी नगरसभाबाट अनुमोदन गर्नेगरी परिमार्जन गर्ने निर्णय बैठकले गरेको महानगरका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष उद्धब अर्यालले जानकारी दिनुभयो ।

महानगरले यसअघि लगाएको नागरिकता सिफारिसमा ५० रुपैयाँ शुल्क तोकेकोमा अब निःशुलक गर्ने भएको छ । यस्तै मृत्यु, जन्म, विवाह दर्ता ३५ दिनभित्र गरेमा निःशुल्क गर्ने भएको छ । ३५ दिनपछि भने ३ सय रुपैयाँ शुल्क लिने भएको छ । सो शिर्षकमा यसअघि ५ सय रुपैयाँ लिने निर्णय भएको थियो ।

महानगरले स्थायी बसोबास, नाम थर जन्म मिति संशोधन सिफारिसमा ५ सयबाट घटाएर ३ सय लिने भएको छ । यस्तै सम्बन्ध विच्छेद सम्बन्धी सिफारिसलाई २ हजारबाट घटाएर १ हजार कायम गरिएको छ ।

महानगरपालिकाले दिएको जानकारी अनुसार संघ संस्था दर्ता सिफारिसमा पनि शुल्क घटेको छ । नगर÷वडा स्तरीय र जिल्लास्तरीय गैरसरकारी संस्था दर्तामा यसअघिको २ हजार र ३ हजारबाट घटनाएर १ हजार र २ हजार कायम भएको छ । यस्तै महानगरपालिकाले नक्सा पास भएका घर निर्माण गर्न काठको सिफारिस÷काठपात ल्याउने सिफारिस गर्न पनि २ हजार ५ सयबाट २ हजारमा झारेको छ ।

घरबाटो सिफारिस २ हजारबाट १५ सय, ग्राभेल बाटो ३ हजारबाट २ हजार बनाइएको छ । बैंक तथा अन्य प्रयोजनका बाटो सिफारिसमा ५ सय रुपैयाँ शुल्क लाग्ने नगरपालिकाले नयाँ व्यवस्था गरेको छ ।

यस्तै महानगरपालिका क्षेत्रभित्रको नेपालीमा सम्पत्ती मूल्यांकन सेवा शुल्क प्रतिशतमा व्यापक घटेको छ । जग्गाको चार किल्ला प्रमाणितमा १० धुरसम्मको ५ सय रुपैयाँ शुल्क लिने यसअघिको निर्णय परिमार्जन गर्दै ३ सय लिने निर्णय गरेको छ । घरनक्सा पास दस्तुरमा पनि केही हेरफेर गरिएको छ । १ हजार वर्ग फिटसम्मको सिमेन्ट जोडाई प्रतिवर्गफिट १० रुपैयाँबाट घटाएर ७ रुपैयाँ, १५ सय हजार वर्ग फिटसम्मको सिमेन्ट जोडाई प्रतिवर्गफिट १४ बाट घटाएर १२ बनाइएको छ ।

यस्तै सम्पत्ती कर संकलनका लागि पनि २० लाखसम्मका लागि ०.०८ प्रतिशतबाट घटाएर ०.०५, त्यसपछिको ५० लाखसम्मको ०.१५ बाट घटाएर ०.१० प्रतिशत शुल्क लिइने भएको छ । महानगरले ज्वलरी साना मझौला र ठूलाको यसअघि क्रमशः १५ हजार, २५ हजार र ३५ हजार कर लिने निर्णय गरेकोमा घटाएर ७ हजार, १२ हजार र २० हजार कायम गर्दैछ ।

कानुन व्यवसायी, चिकित्सक आदीलाई तोकिएको शेवाशुल्क पनि कटौती गरेको छ । यस्तै होटल, रेष्टुरेन्ट, गीत गजल, बार र लजहरुको शुल्क पनि भारी कटौती गरेको छ ।

महानगरले पूर्वमा हाटखोला र पश्चिममा श्रीराम मार्ग, कान्छामार्गसँग जोडिएको दायाँ वायाँको पसल, उत्तरमा वरगाछी–पानीटंकी सडकमा जोडिएका व्यवसाय, दक्षिणमा रोडशेष भित्र रहेका व्यवसायलाई ठूलो, मझौला व्यवसायको दररेट बमोजिम व्यवसायकर असुल गर्ने भएको छ । यस्तै थोक तथा सप्लायर्स व्यवसायलाई ठूलो, मझौला व्यवसायको दररेट अनुसार व्यवसाय दररेट असुल गर्ने, विदेशी नागरिकका हकमा विदेश नागरिक खुल्ने प्रमाणको आधारमा संचालन गर्ने व्यवसाय दरमा शतप्रतिशत थप रकम लिएर व्यवसाय दर्ता गर्ने पनि नगरपालिकाले निर्णय गरेको छ ।

महानगरले भेटेरिनरी परीक्षण शुल्कमा कुनैपनि फेरवदल गरेको छैन । यसअघि किसान तथा पशुपालकहरुका लागि बाख्रा, खसी, गाई, भैंसीको गोबर परीक्षण तथा कृतिम गर्भाधानमा पनि कर लगाइएको भन्दै व्यापक विरोध भएको थियो । विरोधका बाबजुद कर परिमार्जन गर्ने शीर्षकमा भेटेरिनरीलाई राखिएको छैन ।

किसानहरुलाई प्रोत्साहन गर्ने र दुध तथा मासु उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको नीति विपरित महानगरले पशु चौपायाको कृतिम गर्भाधान, उपचार आदि शुल्कमा दोब्बर भन्दा बढी शुल्क वृद्धि गरेको थियो । त्यसलाई अहिले पनि यथावत राखिएको छ ।

महानगर कार्यपालिकाका प्रवक्ता अर्यालले सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने कर, दस्तुर, महशुल र शूल्कमा व्यापक कटौती गरेको बताउनुभयो । उद्योगी व्यवसायी, नगरवासी र राजनीतिक दलको सुझाबका आधारमा करको दर परिमार्जन गरिएको उहाँको भनाइ छ ।

करको दायरा बढाउनुको साटो दरमा व्यापक वृद्धि भएपनि जनस्तरबाट महानगरको निर्णयको व्यापक विरोध भएको थियो । नेपाल कम्युनिष्ट पार्टीले करबृद्धिको निर्णय फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

महानगरको मंगलबारकै बोर्ड बैठकले विराटनगर ११ पिचरा स्थित दुर्गा मन्दिर अगाडि सार्वजनिक जग्गा १ कठ्ठा १० धुरमा ३० वर्षदेखि सुकुम्बासीहरु बसोबास गर्दै आएकोमा वडा कार्यालयको भवन बनाउन जग्गा खाली गर्ने निर्णयसमेत गरेको छ । यस्तै न्गर कार्यपालिकाको कार्यालयमा कानुनी सल्लाहकारको रुपमा कार्यरत अधिवक्ता डिल्लीबहादुर कार्कीलाई मासिक ४० हजार रुपैयाँ पारिश्रमिक दिने तथा थप एक जना राजपत्राकिंत तृतीय श्रेणीको अधिवक्ता र एकजना रा.प.अनंकित प्रथम श्रेणीको अभिवक्तालाई पूर्णकालिन कानुनी सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

महानगरले नगर प्रहरीको दरबंन्दीभित्रका नगर रक्षकहरुको स्तरवृद्धि तथा रिक्त पदमा सेवा करारमा नियुक्तिको प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको छ । यस्तै सबै वडा कार्यालयहरुमा एक÷एक जना कम्प्युटर चलाउन दक्ष कार्यालय सहयोगी नियुक्तिको सिफारिस गर्न वडाबाट माग गर्ने निर्णय पनि गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes