विराटनगर महानगरको कार्यालयमा विष्फोट - Pahilo Online

विराटनगर महानगरको कार्यालयमा विष्फोट

विप्लब माओवादीमाथि आशंका/ ९ जना पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिका भवनभित्र आइतबार अपरान्ह बम विष्फोट भएको छ । महानगरपालिका प्रमुख भिम पराजुलीको पहिलो तलामा रहेको कार्यकक्ष छेउको प्यासेजमा आइतबार दिउँसो २ बजे बम विष्फोट भएको हो ।

बम बिस्फोट हुँदा कार्यालयका सिसा तथा फर्चिनर र प्रमुख पराजुली चढ्ने सवारी साधनको सिसा फुटेको छ । बिष्फोट भएको स्थानमा कोही पनि नरहेकोले मानवीय क्षति हुन नपाएको मोरङ प्रहरीका प्रमु्ख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।

विष्फोट भएको स्थानमा आल्मुनियमको टुक्रा भेटिएकोले प्रेसर कुकर बम बिष्फोट गराइएको हुनसक्ने आशंका गरिएको छ । ठूलो आवाजसहित भएको विष्फोटबाट नगरपालिकाको झ्यालका सिसा फुटेको छ भने प्यासेजमा रहेका सोफा र दराज टुक्राटुक्रा भएको महानगर प्रमुख पराजुलीले जानकारी दिनुभयो । विष्फोटले प्रमुख पराजुलीले चढ्दै आएको को १ झ ४९४ नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ ।

विष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो । विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका थिए । मुटुरोगी उनको उपचार विराटनगरमा स्थित कोशी अञ्चल अस्पताल उपचार भइरहेको छ ।

महानगरपालिको प्रमुख पराजुलीले जनताको कार्यालय भएका कारण बम विष्फोट हुने कुरामा कुनै आशंका गर्न नसकिएको बेला एक्कासी विष्फोटको आवाज आएको बताउनुभयो । ‘जनताको सेवा गर्ने कार्यालयमा बम विष्फोट हुन्छ भन्ने कल्पनासम्म गरेको थिइन्’ प्रमुख पराजुलीले भन्नुभयो, ‘जसले घटना गराएपनि यो निन्दनीय र खेदजनक छ ।’ उनले कुनै आन्दोलनका नाममा यस्तो घटना भएको भए पनि त्यो गलत भएको बताउनुभयो ।

प्रहरीले महानगरपालिका कार्यालयमा शिल गरेर घटनाको अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा प्रहरीका तालिमप्राप्त कुकुरसहितको अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी टोली परिचालन गरेर घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । सशस्त्र र नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ ।

मोरङ प्रहरीका एसपी केसीले बम विष्फोटको गहिरो अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । महानगरपालिकामा सीसीटिभी जडान गरिएका कारण त्यसको फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिररहेको छ । के उद्देश्य राखेर विष्फोट गराएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

विष्फोटपछि जिल्ला सुरक्षा समिति मोरङको बैठक बसेर विराटनगरको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय पनि गरेको छ । केही दिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएरै महानगरपालिमा चन्दा माग गरेको थियो । चन्दा नदिएको र सो पार्टीका प्रवक्ता पक्राउ गरेको विरोधमा आन्दोलनमा जाने घोषणा गरेको पार्टीले त्यसकै लागि विष्फोट गराएको आशंका पनि गरिएको छ ।

प्रहरीले महानगरपालिकामा बम विस्फोट गराएको आशंका गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बुढिगंगा गाउँपालिका निवासी जीवन निरौला र राजेश न्यौपानेसहित ९ जना कार्यकर्तालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । विस्फोट भएको एक घण्टापछि विभिन्न स्थानबाट पक्राउ गरि उनीहरुलाई मोरङ प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes