अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार - Pahilo Online

अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार

उद्योग संगठनद्वारा प्रदेश सरकारका मन्त्री र सांसदको अपमान

writer

पहिलो अनलाइन

विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित कमिटिको पदस्थापन कार्यक्रममा अमानित भएको भन्दै प्रदेश सरकारका मन्त्री र सांसदले कार्यक्रम नै बहिष्कार गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेता माधबकुमार नेपालको प्रमुख आतिथ्यमा शुक्रबार विराटनगरमा भएको पदस्थापन समारोहमा प्रदेश सरकारका मन्त्रीहरुको अपमान गरिएको हो । पदीय मर्यादा ख्याल नगरी कार्यक्रममा अपमान गरेको अनुभूति गरेपछि प्रदेश सरकारका मन्त्री र सांसदहरु कार्यक्रम छाडेर हिँडेका थिए ।

मोरङ र सुनसरीका ठूला उद्योगहरुको छाता संगठनको रुपमा रहेको उद्योग संगठनमा भिम घिमिरेको नेतृत्वमा निर्वाचित भएको नयाँ टिमको पदस्थापन कार्यक्रम शुक्रबार राखिएको थियो । उक्त कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सहभागी थिए । आयोजकले उनीहरुलाई उद्योग संगठन र व्यापार संघका पूर्व अध्यक्षहरुभन्दा पछाडि आसनग्रहण गराएको थियो ।

कार्यक्रम स्थलमा तयार गरिएको मञ्चको पहिलो लहरमा ७ वटा सिट थिए । त्यसमा विदा हुने अध्यक्ष मुकेस उपाध्यायसहित प्रमुख अतिथि नेपाल, विशिष्ट अतिथि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका उपाध्यक्षहरु शेखर गोल्छा र किशोर प्रधानलाई आसन ग्रहण गराईएको थियो । त्यसपछि उद्योग संगठनका पूर्व अध्यक्ष र मोरङ व्यापार संघका अध्यक्षलाई आसन ग्रहण गराइसकेर मात्र प्रदेश सरकारका मन्त्रीहरुलाई दोस्रो लहरमा आसन ग्रहण गराइएको थियो ।

उद्योग संगठनले आफ्ना हरेक कार्यक्रममा केन्द्रीय सरकारलाई प्राथमिकता दिएर प्रदेश सरकारको अबमूल्यन गरेको महशुस गरिरहेका मन्त्रीहरुलाई कार्यक्रममै बोलाएर अपमान गरेपछि उनीहरु बाहिरिएका थिए । मन्त्रीहरु कार्की र आङ्बो सल्लाह गरेरै पालैपालो कार्यक्रमबाट बाहिरिए । समय छैन, केन्द्रबाट नेता र मन्त्री आएपछि म आउन पर्दैन भन्दा आउनैपर्छ भनेर जोड गएपछि उनीहरु कार्यक्रममा आएको मन्त्रालय निकट स्रोतले जनाएको छ । सार्वजनिक कार्यक्रममा अपमान गरेकोले अब संगठनले सार्वजनिक रुपमा माफी नमागे उसको कार्यक्रममा सहभागी नहुने मनस्थिति मन्त्रीहरुले बनाएको बुझिएको छ ।

मन्त्रीहरु मात्र हैन नेपाली काँग्रेसका नेता तथा सांसद डा.मिनेन्द्र रिजालले पनि संगठनको कार्यक्रम बहिष्कार गरे । कार्यक्रममा सहभागी हुन आएको लामो समयसम्म आयोजकले वास्ता नगरेपछि रिजाल आयोजकलाई नमस्कार गर्दैै कार्यक्रमबाट बाहिरिएका थिए । यसअघि मोरङबाट निर्वाचित भएका सांसदहरुको सम्मानमा संगठनले आयोजना गरेको कार्यक्रममा पनि रिजालको अपमान भएको थियो । त्यसबेला उनले कार्यक्रममै असन्तुष्टि पोखेका थिए ।

उद्योग संगठनको कार्यक्रममा ढिलो गरी पुगेका प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरे भने अपमान सहेरै कार्यक्रममा सहभागी भएका थिए । आयोजकले मन्चमा लगेर बसाएपनि घिमिरेको आसनग्रहण ढिलो मात्र गराएको थियो । मन्त्री घिमिरे मञ्चमा पुगेपछि विभिन्न अस्पतालका मेनेजरदेखि उद्योगी व्यपारीलाई आसनग्रहण गराएका कार्यक्रम सञ्चालक भोला दुलालले मन्त्रीलाई भने आसन ग्रहण गराएनन् ।

घिमिरे निस्कने तयारी गरेको बुझेपछि कसैले दुलाललाई चिट दियो र मात्र उनको आसनग्रहण गराइएको थियो । त्यसो त मन्त्री घिमिरे र संगठनका नवनिर्वाचित अध्यक्ष भीम घिमिरेबीच निकट सम्बन्ध रहेकोले पनि उनी कार्यक्रममा बसेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes