विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनको पेशी स्थगित भएको छ ।
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरुले साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्तीे महल १७ नम्बर अनुसार दिएको निवेदनमा बिहीबार सुनुवाई हुने तोकिएको थियो ।
तारेखमा छाड्न माग गर्नेमा पूर्वडीआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत र व्यापारी हेमन्त गौतमहित १६ जना छन् । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन गर्न बाँकी रहेको हुँदा पेशी स्थगित गरिएको जानकारी दिनुभयो ।
जिल्ला अदालतबाट सादा तारेखमा छाडिएका अम्मरबहादुर थापा र १५ हजार धरौटीमा छाडिएका विष्णुबहादुर खड्काको हकमा मागदावी गरिए अनुसारको कारवाहीको मागसपहित सरकारी वकिलको कार्यालयले पनि १७ नम्बर दिने तयारी गरेको छ । उच्चमा १७ नम्बर निवेदन दिएका सबैलाई एकै पटक अदालतमा पेश गर्नेगरी पेशी स्थगित गरिएको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला अदालतको आदेश चित्त नबुझेर थुनामा रहेका १६ जनाले उच्च अदालतमा १७ नम्बरको निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई गत बिहीबार नै ९ जनाको कैफियत प्रतिवेदन पठाएको छ । कैफियत प्रतिवेदनमा अभियुक्तले दिएको बयान, घटना मुचुल्का र अदालतको आदेश छ ।
मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्च अदालतमा प्राप्त भएपछि अदालतले पेशी तोकेको थियो । उच्च अदालतमा प्रत्येक हप्ताको बिहीबार मात्र पेशी हुने भएकाले १७ नम्बरमा निवेदन परेका अभियुक्तको हकमा अब आउँदो बिहीबार मात्र पेशी चढ्नेछ ।
सो मुद्दाका अभियुक्तहरु पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङ्गे, राजन थापा, दोेराम खत्री, गोपालकुमार श्रेष्ठ, माधव भन्ने मदनप्रसाद घिमिरे र एलबी भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, सुनका लगानीकर्ता भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र टेकराज मल्ल ठकुरीसमेतले आफूहरू निर्दोष रहेको भन्दै सादा तारेखमा छाड्नुपर्ने मागदावी सहित उच्च अदालत विराटनगरमा असार १३ गते पुनरावेदन गरेका थिए । जिल्ला अदालतले दिएको आदेश, अभियुक्तले अदालतमा दिएको बयान, अभियोगपत्र, घटना विवरण, मुचुल्कामा उल्लेखित गरिएका मानिससहितको कैफियत प्रतिवेदन उच्च अदालतमा प्राप्त भएपछि मुद्दाको सुनुवाई हुने प्राबधान छ ।
मोरङ अदालतका न्यायधीश नारयणप्रसाद शर्माले गएको जेठ ८ गते सुन तस्करी र सनम हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएका छन् । एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए ।
पुर्पक्षको लागि झुम्का कारागारको थुनामा रहेका २८ अभियुक्तमध्ये अहिलेसम्म १६ जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् । उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।