क्रसर अध्ययन समितिको प्रतिवेदन अपुरो - Pahilo Online

क्रसर अध्ययन समितिको प्रतिवेदन अपुरो

उद्योगीको प्रभाबमा परेर झारा टार्ने प्रतिवेदन तयार पारेको आशंका

writer

पहिलो अनलाइन

विराटनगर । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ ।

समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अध्ययन नगरी केही निश्चित उद्योगको मात्र विवरण संकलन गरेर प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई २ पृष्ठको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनको स्वरुप र प्रारुप नै नभेटेपछि प्रजिअ आचार्यले सो प्रतिवेदन सार्वजनिक गर्नुभएको छैन । क्रसर उद्योगको दोहन र अबैध कामको बारेमा सञ्चार माध्यम र प्रदेश संसदमा पनि प्रश्न उठेपछि घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका उद्योग अधिकृत शुशिला श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले ४ वटा उद्योगको मात्र अनुगमन गरेर प्रतिवेदन बुझाएको छ ।

समितिले कृष्ण क्रसिङ इन्डष्ट्रिज प्रा.लि., महादेवा मिनरल इण्डष्ट्रिज, शिवम् एग्रिगेड इन्डष्ट्रिज र ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स गरी ४ वटाको मात्र अध्ययन गरेर रिपोर्ट बुझाएको छ । जिल्लामा २२ उद्योग दर्ता रहेकोमा १३ वटा सञ्चालनमा रहेको पाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । तर, प्रतिवेदन त्यो विषयसमेत उल्लेख नभएको पाइएको छ ।

प्रतिवेदन जिल्लामा उद्योग दर्ता छन्, कति सञ्चालनमा छन् र कुन–कुनले मापदण्ड पुरा गरेका छन् भन्ने विषयमा पनि मौन रहेको पाइएको छ । यो प्रतिवेदन हेर्दा क्रसर उद्योगीको प्रभावमा छानविन समिति नै परेको आशंका पैदा भएको स्थानीयले बताएका छन् । जिल्लामा स्थानीय तहका जनप्रतिनिधिलाई प्रभाबमा पारेर क्रसर उद्योगीले अबैध उत्खनन गर्दै आएका छन् ।

प्रजिअ आचार्यले पनि समितिको प्रतिवेदन अपुरो आएको स्वीकार गर्नुभयो । अध्ययन समितिको बचाउ गर्दै उहाँले समितिले प्रतिवेदनको ढाँचा नबुझेकोले यस्तो प्रतिवेदन आएको हुनसक्ने बताउनुभयो । अपुरो र गैरजिम्मेवार प्रतिवेदन समितिबाट प्राप्त भएपछि क्रसर उद्योगको बारेमा पुनः अध्ययन गर्ने प्रशासनले जनाएको छ ।

समितिले बुझाएको प्रतिवेदनमा अध्ययन गरेको भनिएका उद्योगहरु मापदण्ड अनुसार रहेन वा नरहेको विश्लेषणसमेत छैन । विभिन्न समयमा तय गरिएका मापदण्डहरुको पोको मात्र समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले अध्ययन गरेका भनिएका उद्योगहरु नै मापदण्ड विपरित रहेको तथ्य सार्वजनिक भइरहेको बेला प्रतिवेदन भने त्यसबारे मौन छ ।

अध्ययन समिति संयोजक श्रेष्ठले हस्ताक्षर गरि बुझाएको प्रतिवेदनमा आफ्नो निष्कर्श दिनुपर्नेमा मापदण्ड पुरा नहुनुको कारणबारे तीनै उद्योगीको भनाईलाई उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ ‘हामीले यथार्थ देखेका र केही स्थलगत अनुगमनमा नै सम्बन्धित सरोकारवालाहरुसंग सोधपुछ गर्दा उद्योग सञ्चालनमा रहेको थप जग्गा लिजमा लिइ सञ्चालनमा रहेको उद्योगीहरुको भनाई छ ।’ गैरकानुनी रुपमा प्राकृतिक स्रोत दोहन गरिरहेका उद्योगीहरुलाई जोगाउने प्रयत्न प्रतिवेदनले गरेको छ ।

गृह मन्त्रालयले देशभर मापदण्ड पुरा नगरी सञ्चालन भइरहेका उद्योगहरुको अध्ययन गरी विवरण ७ दिनभित्र पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर, त्यस्तो प्रतिवेदन प्रशासनले पठाएको छ । क्रसर उद्योगकै अध्ययन गर्न गठन भएको समितिले हचुवाको भरमा प्रतिवेदन पेश गरेपछि प्रशासनले त्यस्तो विवरण पठाउन पुनः अध्ययन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको आन्तरिक अध्ययन अनुसार जिल्लामा चलिरहेका १३ क्रसर उद्योगमध्ये एउटाले मात्र सबै मापदण्ड पुरा गरेको भेटिएको छ । क्रसर उद्योगको बारेमा उच्चस्तरीय छानविन समिति गठन गरेर विवरण तयार पार्ने र गृह मन्त्रालयमा पठाउने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes