प्रदेशसभाबाट विनियोजन बिधेयक पारित - Pahilo Online

प्रदेशसभाबाट विनियोजन बिधेयक पारित

हुन्छ कि हुन्नमा झुक्किए सांसद, ड्रेसकोड पालना गर्नथाले

writer

पहिलो अनलाइन

विराटनगर । एक नम्बर प्रदेशसभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शिवनारायण गनगार्इंले राख्नुभएको खर्च कटौतिको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो । हरेक शिर्षकमा बजेट हुँदाहँुदै पनि भैपरी आउने शिर्षकमा रकम राख्नु उचित नहुने भन्दै उहाँले खर्च कटौतिको प्रस्ताव हाल्नुभएको थियो ।

कांग्रेस सांसद गनगाईले विधेयकमा रहेको भैपरी चालुतर्फको ४३ करोड ३७ लाख ३ हजार २ सय ७, विविध भैपरी शिर्षकको ८० करोड र भैपरी पूँजीगतमा रहेको ४८ करोड ८८ लाख ८० हजार रुपैयाँलाई कटौति गर्न प्रस्ताव पेस गर्नुभएको थियो । उहाँले ती सबै शिर्षकमा ५ सय रुपैयाँ मात्र राख्न गर्नुभएको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो ।

खर्च कटौतिको प्रस्तावमाथि जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि सो बजेट मन्त्रालय मातहत राखिएको जानकारी दिनुभयो । दुई कार्यक्रमको उपयुक्त खाका तयार भइनसकेकाले सो बजेटलाइ एकमुष्ट रुपमा मन्त्रालयमा राखिएको बताउँदै उहाँले नदि नियन्त्रण र दैवि विपत्तिको उद्धारमा समेत सो रकम खर्च गर्ने उल्लेख गर्नुभयो ।

प्रादेशिक गौरबका आयोजना सुरु गर्न र ठूला आयोजनामा बजेट कम भएमा थप गर्न पनि उक्त बजेट खर्च गरिने आर्थिक मामिला मान्त्री आङ्बोले जानकारी दिनुभयो । बिनियोजन बिधेयक पारित भएसँगै सरकारको बजेटमाथिको संसदको कार्वाही सम्पन्न भएको छ । अब सोमबारबाट संसदको बैठकमा अन्य बिधेयकमाथि छलफल हुनेछ ।

झुक्किए सांसद,
प्रदेशसभामा विभिन्न बिधेयक र संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा सांसदहरु झुक्किने गरेका छन् । आइतबारको बैठकमा विनियोजन बिधेयकमाथि नेपाली काँग्रेसका सांसद शिवनारायण गनगाईंले पेश गरेको संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा सत्तापक्षका सांसदहरु झुक्किएका हुन् ।

सभामुख प्रदिपकुमार भण्डारीले संशोधन प्रस्तावको पक्षमा रहने सांसदहरुले हुन्छ भन्नुहोस् भन्दा सत्तापक्षका सांसद नारायणबहादुर मगरसहित सांसदहरुले झुक्किएर हुन्छ भनेका थिए । मगरले हुन्छ भन्दै हात उठाउनुभएको थियो भने अन्य कतिपय सांसदहरुले हुन्छ भन्ने आवाज दिएका थिए । संसदमा प्रस्तावको पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्दा कतिपय सांसदहरुले हुन्छ वा हुन्न भनेपनि हात उठाउने गरका छैनन् ।

संसदमा सरकारले पेश गरेका विधेयक पास गर्न हुन्छ भन्ने बानी परेका सत्ता पक्षका सांसदहरुले संशोधन प्रस्तावलाई पनि सरकारी बिधेयक ठानेर हुन्छ भनेका थिए । सत्ता पक्षका केही सांसदहरुले विपक्षीको संशोधन प्रस्तावको समर्थन गर्दा सभामा हाँसो गुञ्जिएको थियो । सत्तापक्षका केही सांसदको समर्थन पाएपनि संसदबाट संशोधन प्रस्ताव भारी मतले अस्वीकृत भएको थियो ।

ड्रेसकोड पालना गर्नथाले सांसद
प्रदेशसभाका सांसदहरुको लागि खैरो रंगको कोटलाई डे«सकोडको रुपमा राखिएको भएपनि अधिकांश सांसदहरुले त्यसको पालना गरेका थिएनन् । सभामुखको रुलिङपछि पनि डे«ेसकोडमा सांसदहरुले ध्यान नदिएको विषयमा सञ्चार माध्यममा समाचार आउन थालेपछि सांसदहरु सतर्क भएको पाइएको छ ।

आइतबारको संसद बैठकमा एकाध बाहेक अधिकांश सांसदहरु तोकिएको कोट लगाएर उपस्थित भएका थिए । कोट नलगाएका सांसदहरुले भने कोट सिलाउन दिएको भन्दै केही दिनपछि लगाएर आउने स्पष्टिकरण दिइरहेको देखिन्थ्यो । कतिपय सांसदहरुले भने चर्को गर्मीमा कोट लगाउन लगाउनु सजाय नै भएको प्रतिक्रिया दिइरहेका थिए । ‘चर्को गर्मी छ, कोट नलगाउँदा समाचार बन्ला भन्ने चिन्ता भो’ सांसद साबित्राकुमारी रेग्मीले भन्नुभयो,‘घरबाट कोट लगाएर संसदसम्म आइपुग्दा हैरान भो ।’ गाडीमा हिँड्नेहरुलाई त सामान्य भएपनि अन्य सांसदहरुलाई भने समस्या भएको उहाँको भनाइ थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes