विराटनगर । विराटनगर–६ शान्तिचौकमा रहेको एभरेष्ट सेकेण्डरी स्कूलले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी प्ले ग्रुपदेखि स्नातकोत्तरसम्मको कक्षा सञ्चालन गर्ने भएको छ ।
स्कूलले ३ बिघा क्षेत्रफलमा ५० करोडको लगानीमा नयाँ भवन निर्माण गरी स्कूललाई विस्तार गर्न लागेको हो । आउँदो कार्तिकसम्म भवनको पहिलो चरणको संरचना निर्माण गरी ११ र १२ को कक्षा सोही भवनबाट सञ्चालन गर्ने तयारी गरेको स्कूलका प्राचार्य टिकाराम उप्रेतीले जानकारी दिनुभयो ।
एभरेष्ट एजुकेशन फाउन्डेशनमार्फत पहिलो चरणमा ३१ लाख रुपैयाँ लगानी गर्ने र ३ वर्षभित्रमा अत्याधुनिक र सुविधा सम्पन्न नमुना भवन बनाउने पुरीको भनाइ छ । नयाँ बन्ने भवनको प्रत्येक कोठा एसीसहितको रहने भएको छ भने स्कूल परिसरभित्रै स्पोर्टस भिलेजसमेत रहने भएको छ । स्पोर्टस भिलेजमा फुटबल, टि.टी., भलिबल खेल्ने खेलमैदानको साथै स्वीमिङ पुलसमेत रहनेछ । त्यस्तै ७ सय मानिस अटने क्षमताको सेमिनर हेलसहित म्यूजिक डान्सको कक्षाहरुसमेत रहने भएको छ ।
स्कूल स्थापना भएको २५ औं वर्षमा यो साल रजत जयन्तीको वर्ष मनाउने पनि एभरेष्टले जनाएको छ । २०५० सालमा स्थापना भएको स्कूलले २०७२ सालदेखि प्लस टुको कक्षाहरु सञ्चालन गर्दै आएको स्कूलले जनाएको छ । प्लटु सञ्चालन गरेको छोटो समयले एभरेष्ट नतिजासमेत उतकृष्ट ल्याएको छ ।
अघिल्लो वर्ष कक्षा १२ को परीक्षामा १ सय ११ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ९ जना विद्यार्थी उत्तीर्ण भई ९८ दशवलप १९ प्रतिशत नतिजा ल्याएको पुरीले जानकारी दिनुभयो । यो नतिजा १ नम्बर प्रदेशकै सबैभन्दा उत्कृष्ट रहेको उहाँको दावी छ ।
एभरेष्टमा प्लटुतर्फ विज्ञान र व्यवस्थापन संकाय पठनपाठन हुँदै आएको छ । एभरेष्टले ३ पटकसम्म देशकै उत्कृष्ट विद्यालयको अवार्ड नेपाल सरकारबाट प्राप्त गरिसकेको छ ।