गोरेसहित तीन विरुद्ध अनुसन्धान सुरु - Pahilo Online

गोरेसहित तीन विरुद्ध अनुसन्धान सुरु

सम्पत्ती सुद्धिकरण ऐन अनुसार अनुसन्धान हुँदै/आफन्तको सम्पत्तिलाई समेत रोक्का राख्ने

writer

पहिलो अनलाइन

विराटनगर । करिब ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका प्रमुख अभियुक्तसहित तीन जनामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान शुरु गरेको छ ।

सुन तस्करीबाट आर्जित सम्पत्तिमाथि अनुसन्धान गर्न विभागले सोमवार तीनै जनालाई काठमाडौं झिकाएर अनुसन्धान थालेको हो । सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे), अभियुक्त भुजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार काठमाडौं लगिएको थियो । विभागले सोमबार नै तीनै जनाको प्रारम्भिक बयान लिएको विभागका प्रवक्ता विनोद लामिछानेले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत वैशाख १९ गते मोरङ जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा २०४४/४५ सालदेखि नेपालमा सुन तस्करी हुने गरेको विषय उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएका प्रतिवादीमध्ये भजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घले सुरुवातदेखि नै सुन तस्करीमा संलग्न रहेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोग पत्रमा उल्लेख छ । यस्तै गोरे भनिने चूडामणि उप्रेती २०६९ सालदेखि सुन तस्करीमा संलग्न रहेको अभियोग पत्रमा उल्लेख छ ।

सुन तस्करी प्रकरणका अभियुक्त भुजुङ गुरुङले गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिलाई दिएको बयानमा २०४५ सालदेखि नै सुन तस्करी गर्ने गरेको उल्लेख पनि गरेका छन् । सो अवधिमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बराबरको ३ हजार ७ सय ९९ किलो सुन तस्करी भएको सरकारी वकिलले जिल्ला अदालत मोरङमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोग पत्रका आधारमा सुन तस्करीका प्रतिवादीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोरे, भुजुङ र छिरिङको सम्पत्ति खोज्न पनि शुरु गरेको छ । विभागका निर्देशक लामिछानेले केही ठोस प्रमाण र सूचनाका आधारमा अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।

विभागले गोरेसहित भुजुङ र छिरिङको सम्पत्ति खोजी गर्न सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को दफा (१५) बमोजिम छुट्टै समितिसमेत गठन गर्ने जनाएको छ । विभागले सुन तस्करी प्रकरणका प्रतिवादीमाथि शुरु गरेको अनुसन्धानअन्तर्गत आफन्तको सम्पत्तिलाई समेत रोक्का राख्ने तथा नियन्त्रणमा लिनसक्ने छ ।

सुन तस्करीमा जोडिएका प्रतिवादीका आफन्तले तस्करीबाट आर्जिक सम्पत्तिबाट लाभ पाएको देखिएमा उनीहरूमाथि समेत कारवाही हुने विभागले जनाएको छ । सुन तस्करीका प्रतिवादी गोरे, भुजुङ र छिरिङले तस्करीबाट आर्जन गरेको सम्पत्ति विदेशमा राखेको भएपनि नियन्त्रणमा लिइने विभागका प्रवक्ता लामिछानेले बताउनुभयो ।

भुजुङ, उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष अहिलेसम्मको अनुसन्धानले देखाएको छ । एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुलेको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको थियो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरु केन्द्रिय कारगारमा राखिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes