गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो - Pahilo Online

गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो

सम्पत्ती सुद्धिकरण मुद्दा दर्ता/अभियुक्तमाथि थप अनुसन्धान हुने

writer

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार काठमाडौं लगिएको छ ।

उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, उनको सालो डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई थप अनुसन्धानको लागि काठमाडौं लगिएको हो ।

जिल्ला अदालत, मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका उनीहरुलाई काठमाडौं लैजान अदालतले आइतबार अनुमति दिएको थियो । गोरे र छिरिङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने भुजुङलाई क्षेत्रीय कार्यालय झुम्कामा राखिएको थियो ।

तीनै जनालाई काठमाडौंमा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको बेला छानबिन समितिले पनि उनीहरुमाथि थप अनुसन्धान गर्ने उच्च प्रहरी स्रोतले जनाएको छ ।

गत १० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै तस्करीमा एसएसपी श्याम खत्री, भुजुङ र मोहनकुमार अग्रवाल मुख्य अभियुक्त रहेको बताएका छन् । तर, अन्य लगानीकर्ताबारे उनले बोलेका छैनन् । आरोपी अग्रवाल भने फरार छन् । तस्करी मुद्दामा पक्राउ परेकाहरुमध्ये एकअर्काले फरक–फरक बयान दिएका छन् ।

काठमाडौं लगिएकालाई सोमबार नै ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराईनेछ । अभियुक्तहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धिकरण अभियोगमा छानबिनका लागि अदालतमा अभियोग पत्र दायर गरेको थियो । सम्पत्ति शुद्धिकरण विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा ३ जनालाई झिकाउन जिल्ला अदालत मोरङमा पत्राचार गरेको थियो ।

विभागले जेठ २५ गते पठाएको पत्रमा प्रतिवादीहरुसँग कसुरको गाम्भीर्यताको आधारमा तत्काल केही कुरा बुझि जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने भएकाले उनीहरुसँग बुझ्ने कुरा बुझी फिर्ता पठाइने उल्लेख छ । विभागले जाँचबुझ गर्नुपर्ने कुरा जाँचबुझ गरेपछि उनीहरुलाई फिर्ता पठाउनुपर्ने शर्तमा मोरङ जिल्ला अदालतले काठमाडौ लैजान अनुमति दिएको हो ।

गोरेलाई बिहानको फ्लाइटमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताउनुभयो । उहाँले अदालतको अनुमतिमा कारागार प्रशासनले ३ जनालाई काठमाडौं पठाएको जानकारी दिनुभयो ।

शुक्रबार छानबिन समितिले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार ’एमके’ अग्रवालको घरमा छापा मारेको थियो । छापाको क्रममा समितिले केही महत््वपूर्ण कागजपत्रसमेत बरामद गरेको थियो । काठमाडौंमा त्यसबारे पनि उनीहरुमाथि सोधपुछ हुनेछ ।

काठमाडौं लगिएकामध्ये भुजुङ सुरुवातमै पक्राउ परका थिए भने गोरे जेठ ८ गते पक्राउ परेका थिए । उनीहरु दुबैले तस्करीको बारेमा राम्रो जानकारी रहेको बयान दिएका छिरिङले भने जेठ २० गते सुटुक्क मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतमा छिरिङले भने तस्करी संलग्नतामा इन्कारी बयान दिएका छन् ।

सुन तस्करी र सनम हत्या अभियोगमा जिल्ला अदालत मोरङको आदेशमा ३० जना थुनामा गइसकेका छन् भने ३३ जना अझै फरार छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes