‘अबको दशक समृद्धिको दशक’ - Pahilo Online

‘अबको दशक समृद्धिको दशक’

विकास र समृद्धिमा जुट्न प्रचण्डको सबैमा आह्वान

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशक समृद्धि र विकासको दशक बनाउनुपर्ने बताउनुभएको छ ।

उद्योग संगठन मोरङको वार्षिक साधरणसभाको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष मात्र नभएर आम जनता एकताबद्ध भएर विकास र समृद्धिको मार्गमा केन्द्रित हुनुपर्ने औल्याउनुभयो ।

आफ्नो जीवनको १० विचार निर्माणमा, १० वर्ष संघर्षमा र १० वर्ष संविधान निर्माण तथा संक्रमण व्यवस्थापनमा वितेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अबको एक दशक विकास र समृद्धिमा केन्द्रित हुने बताउनुभयो । मुलुकको विकास र समृद्धिको लागि निजी र सार्वजिनक क्षेत्रसँग सरकारले सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले नेपालको समृद्धिको प्रमुख आधार कृषि र पर्यटन भएको उल्लेख गर्दै कृषिमा आधारित उद्योग धन्दा निर्माण र पुराना उद्योगको पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक स्थिरता, समृद्धि र मुलुकको विकासको लागि दुई बामशक्ति एकताबद्ध भएको बताउँदै उहाँले अब अन्य विषय आवश्यक नरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले स्थिर स्थायी सरकार भएकोले यसपटकको बजेटमा लोकप्रिय भन्दा पनि अर्थतन्त्रलाई सही बाटोमा ल्याउनेगरी बजेट ल्याएको बताउनुभयो । यो बजेटले अर्थतन्त्रलाई सही बाटोमा लैजाने र क्रमस सरकारले आफ्नो कामको गति बढाउने उहाँको भनाइ थियो । ‘अहिले पहिलो गियरमा अगाडि बढिएको हो’ उहाँले भन्नुभयो, ‘विस्तारै गियर बढाउँदै ५ वर्षमा उडान भर्ने योजना छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले कृषि क्षेत्रलाई औद्योगिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको विकास र समृद्धि हासिल गर्ने हो भने कृषि क्षेत्रको विकास नै प्रमुख हुनुपर्ने बताउनुभयो ।

उद्योग संगठन मोरङ ५० वर्षमा पुगेको अवसरमा साधरणसभाको अवसरमा संगठनको इतिहास समेटिएको आधा शताब्दी नामक पुस्तक पनि अध्यक्ष प्रचण्डले विमोचन गर्नुभयो । सो अवसरमा पत्रकारद्वय गणेश लम्साल र नविन कर्णसहित उद्योग, व्यापारको क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes