
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै क्याविनेटका मन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आफ्नै मन्त्रालयमा पुगेका संचारकर्मीसँग सोमबार कुरा गर्दै उहाँले आफूसँग प्रदेशका अन्य मन्त्री र कर्मचारीको टिम स्पिड नमिलेको गुनासो गर्नुभयो । ‘प्रदेशको विकास र समृद्धीभन्दा अरू कुनै कुरा मेरो दिमागमा आउँदैन’, उहाँले भन्नुभयो ‘तर आफूले भने जस्तो सबै कुरा मिल्दैन रहेछ, म त काम गर्ने मान्छे हँु, यहाँको क्याविनेट र कर्मचारीतन्त्र कस्तो छ थाहा छँदै छ नि तपाइहरूलाई पनि ।’
मुख्यमन्त्री राईले कर्मचारीतन्त्रको केन्द्रीकृत मानसिकता र कर्मचारीले केन्द्रका विभागीय मन्त्रीको दिमाग भुटेका कारण समस्या आइरहेको पनि बताउनु भयो । ‘केही कर्मचारीमा अझै केन्द्रीकृत मानसिकता देखिन्छ’, उहाँले भन्नुभयो, ‘यो पनि तल जान दिनुहँुदैन त्यो पनि तल जान दिनु हँुदैन केन्द्र्र हात खुट्टा नभएको जस्तो हुन्छ भनेर कर्मचारीले विभागीय मन्त्रीको दिमाग भुटेका कारण मन्त्रीको पनि मनस्थिति केन्द्रीकृत मानसिकताले ग्रसित नै बनेको छ ।’
अधिकार पाइएन, बजेट थोरै भो भनेर अन्य प्रदेशका मुख्यमन्त्री आवेशमा आउने, आक्रोशीत हुने निरास हुने गरेको भएपनि आफू अहिले नै निरासा नहुने उहाँले बताउनुभयो । ‘अन्य प्रदेशका मुख्यमन्त्री बजेट थोरै भो, केन्द्रले अधिकार दिएन भनेर निरासा हुने र आक्रोशीत भएको देखेको छु,’ उहाँले भन्नुभयो, ‘तर म ओक्रोशीत पनि छैन, निराश पनि छैन, साउनको अन्तिमसम्ममा केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने तयारी भइरहेको छ र केन्द्रले अधिकार दिनै पर्छ नदिइ सुखै छैन ।’
त्यस्तै मुख्यमन्त्री राईले कनिका छरेजस्तो बजेट छरेर नदिने बताउनुभयो । ‘बजेट हामी छर्दैनौं मैले सबै मन्त्रालयका मन्त्रीलाई भनिसकेको छु,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा बजेट पठाउँदा पनि एक पालिका एक योजना र एक निर्वाचन क्षेत्र एक योजना निर्माण गरी ठोस काम हुने गरी बजेट खर्च गरिनेछ ।’ ५६ वटा निर्वाचन क्षेत्रमा पाँच वर्ष भित्रमा ५६ वटा कालोपत्रे, ५६ वटा पक्की पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
कृषि, पर्यटन, जलस्रोत र उद्योगधन्दाको विकासलाई नै प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको र सोही बमोजिम प्रदेशको नीति तथा योजना र बजेट तर्जुमा गरेको उहाँले जानकारी दिनुभयो । ‘कृषिले तत्कालै प्रदेशको समृद्धि नभएपनि कृषिजन्य वस्तुको आयातमा कमी ल्याउन सके मात्रै पनि ठूलो उपलब्धी हुने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘कृषिपछि प्रदेशले आफ्नो प्राथमिकताको क्षेत्रमा पर्यटनलाई राखेको छ ।’ पर्यटनले प्रदेशको समृद्धिमा ठूलो टेवा पु¥याउने भएकाले पर्यटन विकासका लागि सबै खाले पूर्वाधार विकासमा प्रदेश सरकारले जोड दिने उहाँले बताउनु भयो ।
पाँच वर्षभित्रमा ५० देखि १ सय मेगावाट क्षमताका आयोजना निर्माण गरी ५ वर्षमा १ हजार मेगावाट विद्युत् उत्पादन प्रदेश सरकारले नै गर्ने उहाँले बताउनु भयो ।
स्थानीय विज्ञापन स्थानीय मिडियालाई
यसैबीच प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले स्थानीय विज्ञापन स्थानिय सञ्चार माध्यमलाइ प्रदान गर्ने नीति बनाइने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पेस गरेको सुझावमाथि प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले स्थानीय सञ्चार माध्यामको विकास, प्रवद्र्धन र श्रमजीवि पत्रकारको हितका लागिसमेत स्थानीय विज्ञापन स्थानीय संचार माध्यमलाई उपलब्ध गराउन जरुरी रहेको र प्रदेश सरकारले त्यो खालको तयारी गरेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका अध्यक्ष विक्रम लुइटेलले मुख्यमन्त्री राईलाई १० बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाउनु भएको थियो । समितिले पत्रपत्रिका, रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यमको दर्ता र नविकरण गर्ने व्यवस्था प्रदेशबाटै हुनुपर्ने, प्रदेशभरीका सबै सरकारी विज्ञापनमा समानुपातिक विज्ञापन नीति लागू हुनुपर्ने, प्रदेशमा कार्यरत सञ्चारकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने र नगराउने सञ्चार माध्यमलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, केन्द्रमा रहेका संञ्चार सम्बद्ध कार्यालय सबै प्रदेश तहमा पनि संचालनमा ल्याइनुपर्नेलगायतका सुझाव पेश गरेको छ ।