सुनकाण्डका अभियुक्त धमाधम आत्मसमर्पण गर्दै - Pahilo Online

सुनकाण्डका अभियुक्त धमाधम आत्मसमर्पण गर्दै

इन्कारी बयान दिएका छिरिङ जेल चलान

writer

पहिलो अनलाइन

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले) पुर्पक्षको लागि जेल चालन भएका छन् ।

आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका घलेलाई अदालतका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले पुर्पक्षको लागि जेल पठाएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार कार्यालय खुलेलगत्तै घलेले आत्मसमर्पण गरेका थिए । त्यसपछि अदालतले उनको बयान लिएको थियो । बयानपछि थुनछेक बहस भएकोमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

छिरिङको पक्षमा वरिष्ठ अधिवक्ता विश्व भट्टराई र अधिवक्ता सरोज अधिकारीले बहस गर्नुभएको थियो । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गर्नुभएको थियो । उनलाई जिल्ला कारागार मोरङ पठाइएको छ । छिरिङलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लाथि थुनामा राख्न आदेश आएको मोरङ अदालतका निमिक्त श्रेस्तेदार केदारप्रसाद रिजालले जानकारी दिए ।

अभियुक्त छिरिङ सुनकाण्डका अर्का अभियुक्त भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका नातामा सालो भएको बताइएको छ । सुन काण्डका मुख्य अभियुक्त चुँडामणी उप्रेती गोरेले छिरिङ पनि सुन तस्करीमा संलग्न रहेको बयान दिएका थिए । यसअघि गत बिहीबार सुन काण्डमा मुछिएका एसएसपी श्याम खत्रीले पनि अदालतसामु आत्मसमर्पण गरेका थिए ।

अदालतलाई दिएको बयानमा घलेले घटनामा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको घलेले दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनकै मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए ।

छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

गोरे समूहका मानिसहरुले भन्ने गरेको डा.डेविट आफू नभएको दाबी गर्दै छिरिङले गोरेले अदालतमा उसको समूहका मानिसलाई बचाएर आपूmलाई फसाउन खोजेको बताएका छन् । छिरिङले भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको स्वीकार गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes