विराटनगर । विकास निर्माणको काममा लापर्वाही गर्ने एक ठेकेदार आफ्ना सहयोगीसहित विराटनगरमा पक्राउ परेका छन् ।
विराटनगरमा आएर गृहमन्त्री रामबहादुर थापा बादलले सम्बन्धित सरोकारवाला निकायले विकासको काममा लापर्वाही गर्नेलाई कार्वाही गर्न सहयोग मागेमा कार्वाही गर्ने प्रतिबद्धता जनाएलगत्तै ठेकेदार पक्राउ परेका हुन् ।

विराटनगरको जनआन्दोलन चोकछेउमा पक्की नाला बनाउने क्रममा गुणस्तरहिन काम गरेको पुष्टि भएपछि टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र सडक कार्यालयका साइट सुपरभाइजर देबराज बराल पनि पक्राउ परेका छन् ।
विराटनगर महानगरका मेयर भीम पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले सिमेन्ट नै नमिसाई बालुवाले मात्र ईट्टा जोडिरहेको फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । विकासको काममा चरम लापर्वाही भएको देखिएपछि शनिबार नै मेयर पराजुलीले त्यसमा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्नुभएको थियो । लगत्तै प्रहरीले ठेकेदार पन्तसहित उनका सहयोगीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कारबाहीका लागि व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरी पठाउने मोरङ प्रहरीले जनाएको छ ।
सो साइटका ठेकेदार भने कृष्ण बोहोरा हुन् । उनी भने पक्राउ परको छैनन् । महानगरले टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कार्वाहीको सिफारिस गरेको छ । पत्रको बोधार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ ।
महानगरका प्रमुख पराजुलीले विकासको काममा चरम लापर्वाही गरेको पाइएपछि प्रशासनिक कार्वाहीको सिफारिस गरेको जानकारी दिनुभयो । व्यापरिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि वरगाछीको भागमा गुणस्तरहिन काम भएको र काममा ढिलाई भएको कारण कार्वाहीको सिफारिस गरेको उहाँले बताउनुभयो । कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोहीलाई नछाड्ने उहाँले चेतावनी दिनुभएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरीले निर्माण कम्पनीलाई महेन्द्रचोकदेखि बरगाछीसम्म विराटनगरको मूल बजार क्षेत्र भएकोले चैत महिनाभरीमा सडककोबीच भागमा ९ मिटर कालोपत्रे गर्ने सर्तमा ठेक्का दिएको थियो । तर, जेठ बित्न लाग्दासमेत कालोपत्रेको काम पूरा गरेको छैन ।
निर्माणधीन सडक र सडकको दुबैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका छन् । अति व्यस्त उक्त सडकमा सवारीसाधनले उडाएको धुलोले विराटनगरका बासिन्दा मार्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुबैपट्टी ढल निर्माणले पनि सडक धुलाम्मे बनेको छ ।