पार्टीभित्रकै खराब विरुद्ध लड्नुपर्छः गृहमन्त्री थापा - Pahilo Online

पार्टीभित्रकै खराब विरुद्ध लड्नुपर्छः गृहमन्त्री थापा

तस्करहरु, समयमा काम नगर्ने ठेकेदारहरु, कालोबजारी गर्नेहरु र सिण्डिकेटधारीहरु समाजवादको बाधक

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका सचिबालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादको यात्रा तय गर्न दुई कम्युनिष्ट पार्टी एक भएको बताउँदै अब त्यसमा बाधा हाल्ने विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी मोरङको कार्यालयमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले सामान्तवाद विरुद्धको संघर्षमा सफलता प्राप्त भइसकेकोले अब मुलुकको आर्थिक समृद्धि र विकास गर्दै समाजवादाको यात्रामा जाने मिसन सुरु भएको बताउनुभयो ।

बाधक तत्त्वलाई नसिध्याई समाजवाद स्थापना नहुने भएकाले पार्टीभित्र रहेका गलत प्रबृत्तिलाई समाप्त पार्न सबै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने उहाँको भनाइ थियो । ‘हामीले भन्दै आएको समाजवादका बाधक कुनै एउटा पार्टीविशेषमा मात्र सीमित छैनन्’, मन्त्री थापाले भन्नुभयो ‘ती काङ्ग्रेस, राप्रपा र हाम्रा पार्टीभित्र पनि छन्। तिनलाई नसिध्याई र तिनको भण्डाफोर नगरी समाजवादको स्थापना हुन सक्दैन।’

प्रदेश नं. १ नेपाल कम्युनिष्ट पार्टीका सांसद लिलाबल्लभ अधिकारीले सुन तस्करीमा जोडिएकाको बचाउमा अदालतमा बसह गरेकोप्रति आक्रोशित देखिनुभएका थापाले यस्ता प्रबृत्तिलाई छुट दिन नसकिने बताउनुभयो । ‘हाम्रै पार्टीका यही प्रदेशसभा सदस्यले सुन तस्करको पक्षमा बहस गरेछन् । महान्यायाधिवक्ता भइसकेका हाम्रै पार्टीका सदस्य रहेका रमन श्रेष्ठ पनि तस्करको बचाउमा काठमाडौंबाट विराटनगर आइपुगेछन्’ थापाले भन्नुभयो, ‘तस्करहरू समाजवादका बाधक हुन् । उनीहरूलाई सिध्याइनेछ। सुन तस्करका पक्षमा बहस गर्ने यस्ता साथीहरूलाई पनि छुट दिइनेछैन ।’

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले भुजुङ गुरुङ र मोरङ क्षेत्र नम्बर २ बाट विजयी प्रदेशसभा सांसद् लीलावल्लभ अधिकारीले बालकृष्ण सन्जेलका पक्षमा मोरङ जिल्ला अदालतमा बहस गरेका थिए। अधिकारीलाई नेकपाको प्रदेश संसदीय दलले पनि सो बिषयमा स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

गृहमन्त्री थापाले समाजवादका बाधकहरू तीन प्रकारका भएको बताउनुभयो । जसअनुसार पहिलो प्रकारमा दलाल राष्ट्रिय पूँजीपति, जग्गा दलाल, सबै प्रकारका भ्रष्ट व्यक्ति, बिचौलिया, अपहरणकारी, फिरौती माग्नेहरू, सिन्डिकेटका नाममा एकाधिकार सञ्चालन गर्नेहरू, समयमा काम नगर्ने वा कामबाट भाग्ने ठेकेदारहरू अनि तिनका मतियार डिई र डिजीहरू तथा कालाबजारिया रहेको उहाँको ठहर थियो। यस्तै घुस खाने कर्मचारी, मानव तस्कर, गिटीबालुवाका तस्करहरू, वैदेशिक रोजगारीमा ठगी गर्नेहरू र लागुऔषधका कारोबारीलाई पनि यही कोटीमा पर्ने उहाँको भनाइ थियो ।

मुलुकलाई विखण्डनमा लान खोज्ने विखण्डनकारीहरू दोस्रो प्रकारका वाधक रहेको गृहमन्त्रीको भनाइ थियो । उनीहरुलाई कुनैपनि बहानामा छुट दिन नसकिने भन्दै गृहमन्त्री थापाले राजनीतिक मुद्दा भए वार्तामा आउन आह्वानसमेत गर्नुभयो ।

समाजवादको तेस्रो प्रकारका बाधक तत्त्वमा सांस्कृतिक अपराधी रहेको थापाले बताउनुभयो । ‘धार्मिक र सांस्कृतिक दङ्गा भड्काउन आफैँले आफैँलाई गोली हान्ने श्रीनिवासहरू, बोक्सीको आरोपमा निर्दोष महिलालाई जथाभावी खुवाउनेहरू, जातीय र छुवाछुतको भावना फैलाउनेहरू, चेलीबेटीलाई अपमान र दुर्व्यवहार गर्नेहरू तेस्रो प्रकारका बाधक हुन्’ उहाँको भनाइ थियो ।
यस्ता तत्वलाई भण्डाफोर गर्न र सिध्याउन सकिएमात्र आर्थिक समृद्धि, विकास र समाजवादको बाटो खुल्ला हुने उहाँले बताउनुभयो ।

मन्त्री थापाले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटा नयाँ र सशक्त पार्टीको जन्म समाजवादी गणतन्त्रको स्थापना गर्न भएको बताउनुभयो । अब समाजवादी क्रान्तिको नेतृत्व यही पार्टीले गर्ने भन्दै उहाँले समाजवाद एउटा नयाँ युग तथा विकास र समृद्धिको उच्चतम अवस्था भएको उल्लेख गर्नुभयो ।

नेता थापाले विकास, समृद्धि, स्थायित्व, सुशासन र शान्ति सुरक्षा गरी समाजवादका पाँच मुख्य आधार भएको बताउनुभयो । यी पाँच मुख्य आधार एकअर्काको परिपूरक भएको उहाँको मत थियो ।

कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको पृष्ठभूमि र आगामी बाटोको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँले एकता प्रक्रियामा कतिपय साथीहरुको योगदानको सही मूल्यांकन हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सच्याउने गरी एकताको सर्तमा आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

तत्कालिन नेकपा एमालेका मोरङ सचिब ऋषिकेस पोखरेलले सञ्चालन र तत्कालिन नेकपा माओवादी केन्द्रका मोरङ सह–संयोजक गणेश उप्रेतीले स्वागत गरेको कार्यक्रम सभापति भने नराखी सम्पन्न गरिएको थियो । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता वादलको कुरा सुन्न नेता तथा कार्यकर्ताहरुको ठूलो भिड जम्मा भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes