मानगढ खानेपानीमा घिमिरेको उम्मेद्वारीः रहर वा आवश्यकता ? - Pahilo Online

मानगढ खानेपानीमा घिमिरेको उम्मेद्वारीः रहर वा आवश्यकता ?

पटक–पटक नेतृत्वमा जाने र त्यहाँबाट आर्थिक लाभ लिने उद्देश्य छैनः घिमिरे

writer

पहिलो अनलाइन

विहान उठ्नसाथ नित्यकर्म वा दैनिक क्रियाकलाप गर्नका लागि पानीको संकलन कसरी गर्ने भन्ने चिन्ता हुन्थ्यो सर्वसाधारणहरुलाई । अत्यन्तै पातलो बस्ती, सरकारले खानेपानी उपलब्ध गराउनुपर्छ भन्ने ध्यान नै नदिएको । आफ्नै लगानीमा जमिन मुनिबाट पानी निकालिन्थ्यो, तर त्यो खानका लागि योग्य थिएन । त्यसो त, गर्मी मौसम सुरु भएसँगै ट्युबेलबाट पानी नआउने समस्याबाट सर्वसाधारणहरु प्रताडीत थिए । घरभन्दा धेरै टाढाको कुनै धाराबाट अलि खानहुने पानी ल्याएर जोह गरेपछि सरसफाई तथा अन्य प्रयोजनका लागि नजिकको खोला पुग्थे उनीहरु । खोलाको बगरमा गएर लुगा धुनेहरुको जमात राम्रै हुन्थ्यो ।

उत्तरी विराटनगर र त्यहाँका जनताले २ दशक अगाडिसम्म भोगेको पीडा, सुन्दै अनौंठो लाग्छ । भर्खरै आउनेलाई यस्ता प्रशंगहरु अनौंठा लाग्न सक्छन् । कारण, यतिबेला विराटनगरको उत्तरी क्षेत्रका जनताले सबैभन्दा स्वच्छ पानी पिउन पाएका छन् । वि.सं. २०५४ सालमा पहाडे भकारी शैलीको ट्यांकी निर्माण गर्ने परिकल्पना गरेर सुरुवात गरेको योजना आज देशकै नमुना बन्न सफल भएको छ । आइरन, आर्सेनिक लगायतका विविध समस्यायुक्त पानी पिउन बाध्य त्यो समयका जनताहरु यतिबेला फिल्टर नै नगरी सोझै धाराबाट पानी पिउन सक्ने अवस्थामा पुगेका छन् । आखिर कसरी सम्भव भयो ? सर्वसाधारणलाई स्वस्छ पानी उपलब्ध गराउने सामाजिक सपना देखेका राम घिमिरे भन्छन्, ‘सबैको साथ, सहयोग र हौसलाले हामी देशकै उत्कृष्ट खानेपानी योजना भित्र पर्न सफल भएका छौं । यसको थप विकास र स्तरोन्नती गराउँदै सर्वसाधारणलाई आवश्यक पर्ने स्वच्छ पानी उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हुनेछ ।’ खानेपानी महासंघ केन्द्रीय सचिवालय सदस्यसमेत रहेका घिमिरेसँग मानगढ खानेपानी आयोजना स्थापनादेखि हालसम्मका गतिविधिमा केन्द्रित भएर गरिएको कुराकानी

मानगढ खानेपानी परियोजनाको सोच कसरी बनाउनुभयो ?
वि.सं. २०५४ सालमा वडा अध्यक्षको निर्वाचनको शिलशिलामा म उत्तरी विराटनगरका घर–घर पुग्दा शुद्ध पिउने पानीको समस्या उच्च विन्दुमा पुगेको देखियो । १५÷२० घरले एउटा हातेकलबाट पानी पिउनुपर्ने, फिल्टर नगरिएको पानी सफा नहुने साथै अधिकांश समय पानी नै नआउने समस्या त्यस क्षेत्रका साथीहरुले उठाउनुभयो । मैले वडा अध्यक्षको चुनाव जितेसँगै त्यस क्षेत्रका करिब ११ हजार जनसंख्यालाई लक्षित गर्दै पहाडे भकारी शैलीको ट्याङ्की बनाउने योजना बनाएँ । पछि सबैको सल्लाह, नेपाल सरकार तथा अन्य दातृ निकायहरुको सहयोगमा ओभरहेड ट्याङ्की बनाउन हामी सफल भएका हौं ।

खानेपानी परियोजना सञ्चालन गर्नुपर्छ भन्ने सोच किन आयो ?
समाजसँग जोडिएर बसेपछि सामाजिक हुने र समाजका समस्याहरुमा आफुले सकेको सहयोग गर्ने मेरालागि नौलो विषय थिएन । मुख्य उद्देश्य त, त्यस क्षेत्रका सर्वसाधारणहरुलाई स्वच्छ पानी उपलब्ध गराउने नै हो । प्रदुषित पानीकै कारण मानवलाई ८० प्रतिशत रोग लाग्छ । त्यस विषयलाई ध्यानमा राख्दै हामीले उत्तरी क्षेत्रमा खानेपानीको प्रोजेक्ट चलाउने योजना बनाएका हौं ।

परियोजना सञ्चालन गर्न त्यो समय कस्ता समस्याहरु भोग्नुपरेको थियो ?
उत्तरी विराटनगरका सर्वसाधारणलाई स्वच्छ खानेपानी उपलब्ध गराउने पवित्र उद्देश्यसहित कागजी योजना सुरु गरेका हामीले सुरुवातको समयमा धेरै दुःख भोग्नुपर्यो । तर, सबैको साथ, सहयोग र हौषलाले हामीले कहिल्यै पछि हट्नु परेन । निश्चित रकम संकलन गरी, सर्वसाधारणहरुबाट सहयोग लिएर हामीले खानेपानी परियोजना सञ्चालन गर्ने योजना बनाएका थिर्यौ । स्थापना गर्न नै चुनौति थियो, त्यसलाई निरन्तरता दिन थप चुनौंति । विस्तारै नेपाल सरकारसँगको सहलगानीको मोडलमा काम गर्यौं । अन्य दातृ निकायहरुसँग पनि जोडिएर त्यसलाई थप सुदृढ गर्दै लग्यौं ।

सुरुवातको क्षमता के थियो, अहिले कस्तो छ ?
उत्तरी विराटनगरका करिब ११ हजार जनसंख्यालाई लक्षित गरेर हामीले खानेपानीको काम सुरु गरेका थियौं । अत्यन्तै ठूलो चुनौति थियो । घरघरमा पानीको पाइप पु¥याउने, जडानका लागि प्रस्ताव गर्ने । आर्थिक हिसाबले पनि जटिल । मैले पटक–पटक भन्नपर्छ, यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरुको सहयोगकै कारण आज हामी देशका उत्कृष्ट आयोजनाभित्र पर्न सफल भएका छौं । छेउछाउका बस्तिहरुबाट पानीको माग हुन्छ । मानगढकै जत्तिको योजना चलाउनुपर्छ भन्दै हामीसँग बुझ्न धेरै आउनुहुन्छ । ११ हजारबाट ३६ हजार जनसंख्यालाई पानी उपलब्ध गराइएको छ । यो ठूलो सफलता हो ।

अहिलेको आवश्यकता के हो ? के सबै सर्वसाधारणलाई पर्याप्त पानी पुग्छ ?
विगत २० वर्ष अघि, अहिले र अबको २० वर्षपछिको जनसंख्या एउटै त किमार्थ हुन सक्दैन । हामीले त्यो समयलाई लक्षित गर्दै खानेपानी आयोजना सुरु गर्यौं । विस्तारै जनसंख्या बढ्दैगयो । हामीले आफ्नो क्षमताले भ्याएसम्म त्यसको क्षेत्र र गुणस्तर विस्तार गर्दै गयौं । करिब ७० किलोमिटर पाइप विस्तार ग¥यौं । यतिबेला हाम्रो लक्षित क्षेत्रको जनसंख्या करिब ५५ हजार पुगेको छ । अबको १५ वर्षपछि यो क्षेत्रको जनसंख्या करिब १ लाख २ हजार पुग्छ । एउटा व्यक्तिलाई सरदर १ सय २० लिटर पानी आवश्यक हुन्छ । यसै विषयलाई मध्यनजर गर्दै हामीले क्षेत्र विस्तारको योजना सुरु गरेका छौं ।

भौगोलिक हिसाबले नयाँ क्षेत्रमा हामी जाँदैनौं । तर, गुणस्तर विस्तारमा हामी सकृय छौं । एकतर्फि जडान गरिएको पुरानो ७० किलोमिटर पाइपलाइन हटाएर सडकको दुबैतर्फ १ सय ४० कि.मि. नयाँ पाइपलाइन जडान गरिनेछ । आफ्नो क्षेत्रभित्र पानी नपुगेका सबै ठाउँमा पानी पु¥याइनेछ । जसका लागि हामीले थप १ सय कि.मि. नयाँ धारा जडानको योजना ल्याएका छौं । उत्पादनलाई अहिलेको भन्दा तेब्बर बढाएर प्रतिव्यक्ति प्रतिदिन १ सय ३५ लिटर पानी वितरण गर्ने र २ सय ४० कि.मि. नयाँ धारा जडानको योजना मेरै नेतृत्वमा अघि बढेको छ ।

यतिबेला मानगढ खानेपानी आयोजनालाई चुनाव लागेको छ । स्थापना कालदेखि नेतृत्व गर्दै तपाई नै किन फेरि दाबेदार ?
राजनीति र समाजसेवा समयअवधि जोडिने क्षेत्र होइनन् । व्यक्तिको क्षमतामा भर पर्ने विषय हुन् । यस क्षेत्रमा खानेपानीको आयोजना ल्याउनुपर्छ भन्ने सोच मेरो हो । मेरो नेतृत्व र सबैको सहयोगमा हामी यहाँसम्म आइपुगेका छौं । आफूले अघि सारेको योजना थोरै मात्रमा स्थापित भएपछि अरुलाई हस्तान्तरण गर्ने पक्षमा म आफैं छु । एउटै व्यक्तिले सधैं काम गर्न त सक्दैन । तर, त्यसको उचित व्यवस्थापन गरेर हस्तान्तरण गर्नुपर्ने देखिएकै कारण मैले यसपटक उम्मेद्वारी दिएको हुँ । र, यो मेरो अन्तिम उम्मेद्वारी हो ।

पटक-पटक एउटै व्यक्तिको आवश्यकता किन ?
कामका स्वरुप र शैलीहरु फरक हुन्छन् । खानेपानी आफैंमा यस्तो जटिल काम हो जो मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्छ । उचित नेतृत्व नभएकै कारण देशभर सञ्चालनमा रहेका परियोजना मध्ये ४५ देखि ५० प्रतिशतसम्म परियोजनाले उत्कृष्ट नतिजा दिन सकेका छैनन् । म सानैदेखि सामाजिक र राजनीतिक क्षेत्रमा जोडिएको व्यक्ति हुँ । एउटै व्यक्ति पटक–पटक नेतृत्वमा जाने र त्यहाँबाट आर्थिक लाभ लिने उद्देश्य हो भन्ने कसैले सोच्छ भने आज यो मानगढ यहाँ हुने थियो वा थिएन भन्न सक्दिन । थोपाथोपा जोडेर संस्था बचाउन धेरै चप्पल फटाएको व्यक्तिले त्यस किसिमका क्रियाकलापहरु गर्छ भन्ने सोच्नु नै गलत हुनेछ ।

निरन्तर नेतृत्वका विषयमा चर्चा गर्दा खानेपानी आयोजनाहरुमध्ये अधिकांश सफल आयोजनाहरु निरन्तर नेतृत्वकै कारण संस्था सफल भएका छन् । पूर्वको सफल परियोजना भित्र पर्ने विर्तामोडमा ११ कार्यकाल एउटै व्यक्तिले नेतृत्व चलाउनु भएको छ । सिन्धुली खानेपानी आयोजनामा १५ कार्यकालसम्म एउटै व्यक्ति अहिलेपनि नेतृत्वमा हुनुहुन्छ । हामी हेर्न सक्छौं, जहाँ पटक–पटक नेतृत्व परिवर्तन भएका छन्, त्यहाँका अधिकांश परियोजनाहरु असफल छन् ।

तपाईको कार्यकालमा धारा जडान शुल्क महंगो बनाएको आरोप छ नि ?
यो धारा जडान शुल्कको होइन, निर्माण सहभागिता शुल्कको विषय हो । यसको मुख्य जिम्मेवार पक्ष नेपाल सरकार हो । किनभने, काठमाडौ, पोखरा, विराटनगर लगायतका देशका प्रमुख सहरहरुमा नेपाल खानेपानी संस्थानमार्फत मुख्य बजार वा व्यापार, व्यवसायिक क्षेत्रका उपभोक्ताले एक रुपैयाँ पनि निर्माण सहभागिता शुल्क नतिर्नेगरी १०० प्रतिशत नै निर्माण लागत सरकारले व्यहोरेको छ । तर, ग्रामिण क्षेत्रका जनतासँग २० प्रतिशत, अर्ध सहरी क्षेत्रका जनतासँग ३० प्रतिशत तथा साना सहरी क्षेत्रका आयोजनासँग ५० प्रतिशतसम्म निर्माण सहभागिता लिएर मात्र आयोजना स्वीकृत गर्ने नियम, निर्देशिका कार्यान्वयन गरिरहेको छ ।

आयोजना निर्माणमा सम्पूर्ण निर्माण लागत नेपाल खानेपानी संस्थानको जस्तै सरकारले व्यहोरिदिएमा र सहभागिता नखोजेमा हामी पनि ५ हजार पुनःस्थापना तथा मर्मतसंहार शुल्क मात्रै लिएर धारा जडान गर्नेछौं । यसका लागि म र मेरो नेतृत्व विजयी भएको खण्डमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको सहयोगमा लविङ गरी सहभागिता शुल्क खारेज गराउन पहल गर्नेछु ।

समितिका वर्तमान उम्मेद्वार भएका केही व्यक्तिले लगाएको आरोप सस्तो, गैरजिम्मेवार र भ्रम सिर्जना गर्न चुनावी प्रचारका लागि लगाइएको आरोप मात्रै हो । त्यसमा सत्यता छैन । सहभागिता शुल्क निर्धारणमा त्यसबेलाका आन्दोलनकारी र समितिबीच छलफल भई २५ हजार निर्धारण भएको थियो । साधारणसभाबाट सोही बमोजिम पारित भएको थियो । समितिले कार्यान्वयन गर्ने बेलामा सुरुको अवस्थालाई ध्यानमा राखि २० हजार निर्धारण गरी कार्यान्वयन गरेको थियो । यस निर्णयसँग सम्बन्धित निर्णय प्रतिलिपि कार्यालयबाट जोसुकैले माग गरी हेर्न सक्नुहुनेछ ।

तपाईका चुनावी एजेण्डाहरु के–के छन् ?
एजेण्डा भन्दा पनि मैले यस क्षेत्रका बासिन्दाहरुलाई स्वच्छ र गुणस्तरीय पानी आवश्यक मात्रामा उपलब्ध गराउनुपर्छ भन्ने योजना बनाएको छु । हिजो पानी खानै नपाएको अवस्थाबाट केही पाइला अघि बढेका हामी अब गुणस्तर र पर्याप्त पानीका विषयमा चर्चा गर्छौं । जसमा चलिरहेको कार्यक्रमहरुलाई पुरा गर्ने, प्रतिव्यक्ति प्रतिदिन १ सय २० लिटरभन्दा बढी पानी २० वर्षपछिको जनसंख्यालाई ध्यानमा राख्दै उत्पादन गर्ने र वितरण गर्ने योजना बनाएका छौं । हाल दैनिक ९ घण्टा पानी उपलब्ध हुँदै आएकोमा असार महिनादेखि थप ५ घण्टा बढाएर दैनिक १४ घण्टा पानी उपलब्ध गराउने हाम्रो योजना छ ।

त्यसबाहेक विगतभन्दा उत्पादन बढेको र लोडसेडिङ कम भएका कारण हामी लगत्तै महशुल घटाउने गृहकार्यमा लागेका छौं । हालको न्युनतम पानी महशुललाई परिमार्जन गरी प्रतिव्यक्ति प्रतिदिन ५० लिटर पानी खपत गर्ने सानो (चार जनाको) तथा विपन्न परिवारलाई आधार मानी ६ यूनिटको न्यूनतम ९० रुपैंयाँमा उपलब्ध गराउने र सोभन्दा माथि १० यूनिटसम्म प्रतियुनिट १५ रुपैंयाँभन्दा मुनिको दरमा उपभोगको आधारमा महशुल लाग्ने व्यवस्थाको प्रस्ताव साधारणसभामा लैजानेछु । यसले सानो परिवारले खपत नगरेको पानीको महशुल तिर्नुपर्ने छैन ।

त्यसबाहेक यसक्षेत्रका सर्वसाधारणलाई पर्याप्त पानी उपलब्ध भएपछि बजारका अन्य क्षेत्रमा बोटल तथा जारमा पानी उपलब्ध गराउने र संस्थालाई आम्दानी बढाउने योजना बनाएको छु । समग्रमा भन्नुपर्दा हामी देशभरका खानेपानी परियोजनामध्ये सबैभन्दा उत्कृष्ट परियोजनामा स्थापित हुन चाहन्छौं । जसका लागि हामी सबै एक भएर काम गर्न र अघि बढ्न आवश्यक छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes