सबैखाले सिण्डिकेट तोडिन्छन्ः गृहमन्त्री थापा - Pahilo Online

सबैखाले सिण्डिकेट तोडिन्छन्ः गृहमन्त्री थापा

१ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठि विराटनगरमा

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका सचिबालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले सबै प्रकारका सिण्डिकेट अन्त्य गर्न सरकार कठोर भएर लाग्ने बताउनुभएको छ ।

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङको संयुक्त आयोजनामा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापले शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रमा देखिएको सबैखाले सिण्डिकेट तोडिने बताउनुभयो ।

कानुनलाई उल्लंघन गर्दै चलिरहेका सिण्डिकेट, तस्करी, कालोबजारी र अनियमितता अन्त्य गर्न सरकार कठोर कदम चाल्न पछि नहट्ने गृहमन्त्री थापाले बताउनुभयो । आर्थिक समृद्धि र विकास अहिलेको सरकारको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै उहाँले त्यसमा ध्यान केन्द्रित गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

विकास निर्माणका काम र निर्माण व्यवसायको जिम्मा भौतिक मन्त्रालयको मातहतमा पर्ने भएकाले मन्त्रालयले त्यसमा भएका अनियमितता छानविन गरेपछि कार्वाहीको लागि गृहमन्त्रालयले सहयोगी भुमिका खेल्ने गृहमन्त्री थापाले प्रष्ट पार्नुभयो । समृद्धि र विकासको लागि सुशासन र सुरक्षा महत्वपूर्ण विषय भएको उहाँको भनाइ थियो ।

बजेटले प्रदेश सरकारलाई अधिकार नदिएको गुनासोका विषयमा सोधिएको प्रश्नमा गृहमन्त्री थापाले प्रदेशलाई अधिकार सम्पन्न बनाउने क्रम सुरू भइसकेको दावी गर्नुभयो । संघीय सरकारले कर्मचारीको तलब भत्तालगायतका धेरैजसो साधारण खर्च राखेर विकास खर्चको बजेट प्रदेश सरकारमा पठाएको उहाँको भनाइ थियो ।

सुनलगायतका सबै खालका तस्करी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले सरकारले गठन गरेको छानविन समितिले औल्याएका सबै दोषीमाथि कार्वाही हुने प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्री थापा १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आउनुभएको हो ।

प्रदेशको सुरक्षा नीति तय गर्न, शान्ति सुरक्षा कायम गर्न, जिल्लाको सुरक्षा स्थिति बुझ्न, सुरक्षा चुनौतिहरूको समाधान गर्ने लगायतका उद्देश्य राखेर १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठि आयोजना गरिएको गृहमन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । सुरक्षा गोष्ठीमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, गृह मन्त्रालयका सचिब प्रेमकुमार राई, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरिक्षकहरू, प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलगायतको सहभागिता रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes