आफैंलाई गोली हान्न लगाउने श्रीनिवासाचार्य जेल चलान - Pahilo Online

आफैंलाई गोली हान्न लगाउने श्रीनिवासाचार्य जेल चलान

कारागार पठाउन लाग्दा बिरामी भएपछि आचार्य कोशी अञ्चल अस्पतालमा भर्ना/ गोली हान्ने पनि जेल चलान

writer

पहिलो अनलाइन

विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासमा भएको बहसपछि आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

श्रीनिवासचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । सो क्रममा उनले आफूलाई फसाईएको दाबी गरेका थिए ।

आदेशपछि झुम्का कारागार लैजाने तयारी गर्दैगर्दा श्रीनिवासाचार्यले विरामी भएको अभिनय गरेपछि उनलाई कोशी अन्चल अस्पताल भर्ना गरिएको छ । आचार्यले आफूलाई श्वास फेर्न गाह्रो भएको बताएपछि अस्पताल भर्ना गरिएको हो ।

जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासाचार्यको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो । धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासाचार्यलाई प्रहरीले वैशाख २४ गते काठमाण्डौबाट पक्राउ गरेको थियो । भारतको नयाँ दिल्ली जाने तयारी गर्दागर्दै उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आसपासबाट पक्राउ गरी सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो ।

प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो । जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

बाराको सिमरा ३ घर भई सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए । आचार्यमाथि चैत २५ गते बिहान १ः४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए ।

गोली हान्ने पनि जेल चलान
यसैबीच श्रीनिवासाचार्यको निर्देशनमा उनीमाथि गोली हान्ने उनकै अगंरक्षक चितवन भरतपुर ४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी पनि पूर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले बुधबार नै चौधरी र अधिकारीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

आदेशपछि उनीहरुलाई प्रहरीले जिल्ला कारागार मोरङ लगेको छ । उनीहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को दफा २ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ । अदालतसमक्ष उनीहरुले बयान दिएपछि थुनछेक बहस भएको थियो ।

अभियुक्तले प्रहरीलाई दिएको बयानभन्दा अदालतमा दिएको बयान फेरेका थिए । थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठक र प्रतिवादीकोतर्फबाट वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ता मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए । चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes