सुन तस्करीका अभियुक्त गोरे जेल चलान - Pahilo Online

सुन तस्करीका अभियुक्त गोरे जेल चलान

खत्री पक्राउ परेपछि तस्करीको जरा पत्ता लाग्ने बयान

writer

पहिलो अनलाइन

विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ।

जिल्ला अदालत मोरङमा लिइएको ४ दिनको बयान र आइतबारको थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत, मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले उनलाईै कारागारमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । सनमको हत्यामा देखिएको भिडियो, पक्राउ परको अन्य अभियुक्तहरुको बयान र गोरेकै बयानका आधारमा उनलाई जेल पठाउने आदेश गरिएको हो ।

संलग्नता स्वीकार
गोरेले अदालतसमक्ष दिएको बयानमा सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको उनको दावी छ । ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन् । उनका अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए । सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने उनले बताएका छन् ।

खत्रीको सहयोगमा ४०० केजी सुन भित्रियो
गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका छन् । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले दुबईबाट भरियामार्फत झोलामा सुन आएपछि भरियालाई प्रहरीले पास उपलब्ध गराउने र चेकजाँच नभई सुन खत्रीको कोठामा पुगेर बाहिरिने गरेको बताएका छन् ।

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको भन्दै उहाँले उनकै सहयोगमा ५०० किलोसम्म सुन आएको गोरेले बयानमा स्वीकार गरेका छन् ।

गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन् । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । उनी तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।

प्रहरीसँगको डिलपछि भारत भागेंः गोरे
गोरेले प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेको खुलाएका छन् । बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन् ।

गोरेका अनुसार उनले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले अरु हाकिमसँग कुरा गरेपछि शव व्यस्थापन गर्न डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ आएको बताएका छन् ।

बाटोमा डिएसपी केसीले फोन गरेर लास व्यवस्थापन गरिदिएवापत २ करोड रुपैयाँ पैसा माग गरेको गोरेले बताएका छन् । सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन् । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो’, उनी भन्छन्, ‘त्यसवापत प्रहरीलाई २ करोड दिने कुरा भएको थियो ।’

तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’

‘प्रहरीले सहयोग गर्ने यकीन थिएन र प्रहरीलाई विश्वास गर्नु राम्रो पनि होइन भन्ने लागेपछि भारत छिरेको बताउँने गारेले आपूmलाई नै फसाउने शंका लागेको पनि बताएका छन् । आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको उनले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes