विराटनगर । विराटनगरका भन्सार एजेन्ट र व्यापारीले भन्सार जाँच पास परीक्षण कार्यालयको गतिविधि आफूहरुका लागि ‘हाउगुजी’ भएको बताएका छन् ।
विराटनगरमा शुक्रबार आयोजित भन्सार जाँच पास पछिको परीक्षण सम्बन्धीत स्थलगत अन्तरक्रियामा बोल्दै व्यापारीहरुले १ सयदेखि ३ सय प्रतिशतसम्म जरिमाना लिने र जाँच अवधि ४ वर्षसम्म राख्नु अवैज्ञानिक भएको भन्दै सच्याउन माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै व्यापारी प्रेम खड्काले जाँच परीक्षण कार्यालय (पिसिए) हाउगुजी भएको बताउनु भयो । ‘पिसिए र भन्सारमध्ये केलाई मान्ने ?,’ खड्काले भन्नुभयो, ‘नेपालमा उत्पादन भएको कुनै वस्तु र भारतमा उत्पादन भएको कुनै वस्तुको हुने मूल्य अन्तरमध्ये कुनलाई सन्दर्भ मूल्य मान्ने ?, एउटै मालवस्तुमा विराटनगरको भन्सार मूल्यांकन र विरगंजको भन्सार मूल्यांकन किन फरक हुन्छ ? ।’
खड्काले एउटै प्रकारका सामानलाई व्यापारी हेरेर भन्सारले र जाँच परीक्षण कार्यालयले व्यवहार गर्ने गरेको पनि गुनासो गर्नुभयो । बहुराष्ट्रिय कम्पनीले काटेको बिललाई पनि मान्यता नदिने गरेको भन्दै खड्काले कुन प्रक्रियाबाट के के कागजात ल्याउँदा हुन्छ भन्ने कुरा व्यक्ति पिच्छे फरक भएको बताउनु भयो । ‘मल्टिनेशनल कम्पनीले गरेको बिलिङ पनि किन मान्यता हुँदैन,’ खड्काले भन्नुभयो, ‘कम्पनीबाट नै मूल्य सूची ल्याएकोले हुन्छ कि? सामान पैठारी पेमेन्ट गरेको डेट पठाउँदा हुन्छ कि ? कसरी काम गर्ने ? ।’
कार्यक्रममा बोल्दै व्यापारी देवी पोखरेलले भन्सार कार्यालयले जाँच पास गरेको सामान पिसिएले चेकजाँच गर्दा कमजोरी भएमा भन्सारका कर्मचारीलाई चाहिं उन्मुक्ति दिने र एजेन्ट तथा व्यापारीलाई मात्रै दोष दिने गरेको बताउनु भयो । उद्योगी गोपाल अग्रवाल, भन्सार एजेन्ट किशोर साहीले चोरी पैठारीका माल वस्तु धमाधम छोडिने गरेको तर, नियम पुरा गरेर छोडिएका मालवस्तु चेकजाँचको निहुँमा भन्सार एजेन्ट र व्यापारीलाई तारो बनाइएको बताउनु भयो ।
विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले बैंक ग्यारेण्टीमा पनि पिसिएको निगरानी हुनु अविश्वास भएको भन्दै आपत्ती जनाउनु भयो । ‘अहिले पनि खुल्ला सिमानाको फाइदा उठाउँदै ट्रकका ट्रक सामान तस्करी भइरहँदा नहेर्ने सरकारी निकाय वैधानिक ढंगले चेकजाँच गर्दा र निकासी गर्दा किन टाउको दुखाउने ?’, उपाध्यायले भन्नुभयो । चेकजाँचको अवधि ४ वर्ष राख्ने कुरा पनि अति भएको उहाँको भनाइ छ । उद्योगी देवकीनन्द अग्रवालले मूल्यांकनको विषयलाई लिएर बढी कर तिर्नुपर्ने अवस्था सिर्जना भएकोे भन्दै नियम भन्दा बढी तिरेको अवस्थाको कर पछि फिर्ता हुनेगरी व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ १ नम्बर प्रदेशका कार्यवहाक अध्यक्ष राजेन्द्र राउतले भन्सार जाँच परीक्षण कार्यालय १० वर्षअघि स्थापना भएको भए पनि काठमाडौं केन्द्रीत भएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले विभिन्न जाँचका नाममा व्यापारीलाई दुःख दिइने गरेको गुनासो पनि गर्नुभयो ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अविनाश बोहोराले सन्दर्भ मूल्य सूची कायम भएसम्म भन्सार मूल्यांकनमा द्वन्द्व सिर्जना भइरहने बताउनु भयो । ‘हामी क्योटो कन्भेन्सनको कुरा गर्छौं, क्योटो कन्भेन्सनले सन्दर्भ मूल्य सूचीलाई मान्दैन,’ बोहोराले भन्नुभयो, ‘सन्दर्भ मूल्य सूची कायम भएसम्म भन्सार मूल्यांकनमा द्वन्द्वको अवस्था भइरहन्छ ।’ उहाँले जाँच परीक्षण कार्यालयलाई अझै प्रभावकारी र व्यापारीको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योगीहरुले उठाएको भन्सार जाँच परीक्षणको विषयमा जवाफ दिँदै भन्सार जाँच परीक्षण कार्यालय काठमाडौंका प्रमुख भन्सार परीक्षण प्रशासक किशोर जोशीले व्यापारी आफैंले पनि भन्सारमा पास भएका मालबस्तुको उचित कर तिरे नतिरेको विषयमा ख्याल गरे समस्या समाधान हुने बताउनु भयो । ‘व्यापारी आफू पनि सचेत हुनुहोस्, भन्सारबाट पास भएको मालवस्तु, पुनः एक पटक आफैंले चेकजाँच गर्नुहोला, यदि कुनै गल्ती भए तुरुन्त जरिमाना दाखिला भए १ सय प्रतिशत जरिमानाबाट बच्न सकिन्छ,’ जोशीले भन्नुभयो ।
भन्सार जाँच परीक्षण कार्यालय काठमाडौंका भन्सार परीक्षक शान्तिराम निरौलाले सहि तरिकाले माल बस्तुको विवरण घोषणा गरे भन्सार एजेन्ट र व्यापारी कोही पनि दोषि नदेखिने बताउनु भयो । ‘समस्या स्वघोषणामा छ,’ निरौलाले भन्नुभयो, ‘सहि तरिकाले मालवस्तुको विवरण घोषणा गर्ने हो भने भन्सार एजेन्ट र व्यापारी दुवै डराउनु पर्ने अवस्था हुँदैन ।’
मालवस्तु पैठारीकर्ताले सामान पैठारी गरेपछि भन्सार विन्दुमा गरेको घोषणाको विश्वसनीयता नीजको लेखा एवं व्यापार सम्बन्धी अभिलेखको आधारमा परीक्षण गर्ने कार्य भन्सार जाँच पास पछिको परीक्षण हो । नेपालमा २०६६ सालमा स्थापना भएको जाँच पास परीक्षण कार्यालय स्थापना भएको हो । जाँचपास परीक्षण कार्यालयको स्थापना गर्नुभनेको व्यापार सहजीकरण र राजस्व संकलनबीच सन्तुलन कायम गर्नु, व्यापारिक छल र राजस्व जोखिमका क्षेत्रलाई न्यूनीकरण गर्नु, पैठारी लागत कम गर्नु, भन्सार ऐन नियमको पालना अवलम्बन गर्नुपर्ने कानूनहरुको परिपालना भए नभएको विषयमा जाँच गर्नु हो ।
यदि व्यापारी तथा भन्सार एजेन्ट संघको मिलेमतोमा कुनै पनि मालसामान ऐन नियम विपरीत जाँच पास भएको पाइए परीक्षण कार्यालयले जुनसुकै बेला अनुसन्धान गर्न सक्छ । भन्सार ऐन अनुसार त्यस्तो मालवस्तुमा दस्तुर कर, शुल्क र सो को सतप्रतिशत जरिमाना गर्ने, जरिमाना र कर पटकपटक नतिरे चल अचल सम्पत्ती रोक्का राखी असुलउपर गर्ने र सो सम्पत्तीले नपुगेमा सरकारी बाँकी सरह असुल गर्नेसम्मको अधिकार जाँच परीक्षण कार्यालयलाई दिइएको छ । कार्यालयलाई पैठारी कर्ताको कारोबार स्थलमा प्रवेश गर्ने, कागजात कब्जा गर्ने, छानविन गर्ने, सिस्टमको छानविन तथा अनुसन्धान गर्ने अधिकार निर्देशिकाले गरेको छ ।