भन्सारको राजस्व लक्ष्य अनुसार पुग्यो - Pahilo Online

भन्सारको राजस्व लक्ष्य अनुसार पुग्यो

साउन र भदौमा लक्ष्य भन्दा कम राजस्व उठेको भएपनि अर्थमन्त्रीको कडाइका कारण वार्षिक राजस्व उठाउने लक्ष्यमा भने असर नगर्ने

writer

पहिलो अनलाइन

विराटनगर । अर्थमन्त्रीमा डा युवराज खतिवडाले चलाएको अभियानले भन्सार महसुलबाट प्राप्त हुने राजस्वमा वृद्धि भएको छ ।

मन्त्री हुनेबित्तिकै खतिवडाले देशका मुख्य भन्सारका प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु)अनुसार भन्सार मूल्यांकन गर्न र लक्ष्य अनुसार राजस्व असुलीमा केन्द्रीत हुन दिर्नेशन दिनुभएको थियो । उक्त निर्देशन अनुसार विराटनगर भन्सार कार्यालयको राजस्व असुलीले लक्ष्य भेट्टाएको छ ।

चालू आर्थिक वर्षको साउन र भदौ महिनामा बाढी र डुबानबाट प्रभावित भएको राजस्व असुली वैशाख महिनासकिँदासम्ममा लक्ष्य भेट्टाउन सफल भएको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले चैत र वैशाख महिनाको भन्सार महसुल लक्ष्यभन्दा बढी संकलन गरेको छ । यसअघि असोज, कात्तिक र माघ गरी तीन महिनामात्र भन्सार महसुलको लक्ष्य हासिल गरेको थियो । कार्यालयले चैत र वैशाखमा भन्सार महसुलबाट १ अर्ब २१ करोडका दरले राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले लक्ष्यभन्दा बढी चैतमा १ अर्ब २९ करोड ८३ लाख र वैशाखमा १ अर्ब ३१ करोड ११ लाख असुली गरेको छ ।

कार्यालयले साउन, भदौ, मङसिर, पुस र फागुन महिनामा भन्सार महसुलको लक्ष्य हासिल गरेको थिएन । तर मूल्य अभिवृद्धि करको असुली लक्ष्यभन्दा बढी हुने गरेका कारण कुल असुलीमा मद्दत पुगेको थियो । कार्यालयले असार मसान्तसम्ममा कुल राजस्व ३१ अर्ब २४ करोड ४८ लाख संकलन गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्ममा २५ अर्ब ३४ करोड ५३ लाख असुली भइसकेको छ । जेठ र असार महिनामा लक्ष्य अनुसार राजस्व असुली भए यस वर्ष लक्ष्य भन्दा केही बढी राजस्व उठाउन सकिने भन्सार कार्यालयको अनुमान छ ।

बढी राजस्व दिने चिनी

विराटनगर भन्सारमा गत वर्षसम्म हाइस्पिड डिजलको आयातले सबैभन्दा बढी राजस्व दिन्थ्यो । तर चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सबैभन्दा बढी राजस्व दिने वस्तु चिनी भएको छ । चिनीले २७ करोड ७४ लाख २९ हजार रुपैयाँ राजस्वमा योगदान गरेको छ ।
चिनीपछि मात्र हाइस्पिड डिजलले २५ लाख ४९ हजार राजस्व दिएको छ ।

यसपछि पेट्रोलबाट १४ करोड ७८ लाख, सिआर सिटबाट १३ करोड ८८ लाख र एचआर सिटबाट ११ करोड ४६ लाख राजस्व प्राप्त भएको छ ।कार्यालयले स्टिल वायर रडबाट ११ करोड ४० लाख, एमएस बिलेटबाट १० करोड ७२ लाख, सिमेन्ट क्लिंकरबाट ९ करोड ३३ लाख, पोलिथिन दानाबाट ७ करोड ३४ लाख र मोटर साइकलबाट ७ करोड २१ लाख असुली गरिएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes