हुनत यो प्रश्न गर्न नपाउँदै धेरैले छैन वा प्रमाणित भएको छैन भन्ने उत्तर दिनेछन्, जुन अस्वाभाविक पनि होइन । तर यसलाई यसरी पनि सोचौं ।
यो भाइरस मलेसियामा पहिलोपटक सन् १९९८ तिर थाहा भएको, सुंगुरको प्रत्यक्ष सम्पर्कमा आहेका (खासगरी किसानहरु) वा आउनेलाई सरेको, छिमेकी देशहरु बंगलादेश र भारतमा केही वर्षहरुको अन्तरालमा देखा पर्दै आएको र सबैभन्दा महत्पूर्ण कुरा निपा भाइरस फैलाउने टेरोपस (एतभचयउगक) जातको चमेरा हाम्रो देश नेपालमा पनि पाइने तथ्य हामी माझ छन् । अझ सन् २०१५ मा अमेरिका, बेलायत र नेपालका कृषि वैज्ञानिकको समूहले गरेको अनुसन्धानले काठमाडौँ र चितवनलगायतका जिल्लामा रहेका सुंगुरमा निपा भाइरस संक्रमित हुने सम्भावना प्रबल रहेको निक्र्यौल निकाल्नुले हामी ढुक्क हुने अवस्था भने छैन ।

नेपालमा भारतबाट कति संख्यामा जिउँदो सुंगुरको आयात हुन्छ त्यो पनि रोग भित्रिने मुख्य आधार हो । त्यस्तै नेपालमा २०७१ साल भदौतिर मोरङ जिल्लाको तत्कालिन लेतांग र पथरी गाविसमा ६ जना बिरामीमध्ये ४ जनाको मृत्यु (६६ प्रतिशत मृत्युदर) हुनु र रोग नियन्त्रण महाशाखाले त्यसबेला निपा भाइरस हुनसक्ने भनि अध्ययन अगाडी बढाएको सूचना सार्वजनिक भएको थियो । यद्यपि यसको अध्ययन कहाँ पुग्यो थाहा छैन ।
माथि उल्लेखित पृष्ठभूमिलाई आधार मान्ने हो भने हामी पक्कै जोखिममा छौं । सर्वसाधारण मात्र नभइ स्वास्थकर्मी पनि उत्तिकै जोखिममा छन् । मंगलबार मात्र भारतमा एक नर्सको मृत्यु भएको छ । जो निपा भाइरस संक्रमित बिरामीहरुको उपचारमा खटिँदा आफै संक्रमित भएको पुष्टि भएको छ । यो घटनाले हामीहरुलाई खासगरी सरुवा रोगको उपचारमा संलग्न चिकित्सक, किसान तथा सर्वसाधारण जो कोही जुन समयमा पनि चनाखो हुनुपर्ने र सुरक्षित रुपमा बच्न सकिने पूर्व तयारीका उपाय अपनाउनु पर्ने देखिन्छ । रोगको निदानका लागि आवश्यक उच्चस्तरको सुरक्षित प्रयोगशाला र दक्ष जनशक्ति सँधै तयारी अवस्थामा हुनुपर्ने समेत देखिन्छ ।
अर्को प्रश्न नेपालमा भएको भए त अहिलेसम्म धेरै मानिसको मृत्यु हुनुपर्ने वा भारतमा जस्तो प्रकोपको रुप किन नलिएको भनिएला । तर प्रकोप वा रोगका हकमा कुनै पनि स्थान वा समयमा आंशिक रुपमा रहेछ भनेपनि केही वर्षको अन्तरालमा कुनैपनि समयमा अचानक प्रकोपको रुपमा देखिने गरेको उदाहरणहरु पाइन्छन् । अथवा नेपालमा कहिले पनि आउँदैन भनेर ढुक्क हुने बलियो आधार पनि देखिदैन ।
माथि उल्लेख गरेका प्रमाणहरुलाई आधार मान्ने हो भने नेपालमा यो भाइरसको उपस्थितिको शंका गर्न सकिन्छ । तर पूर्णरुपमा निदान गर्न भने प्रयोगशालामा प्रमाणित गर्न जरुरी हुन्छ र यसको लागि अनुसन्धान गर्नुको गर्नुको विकल्प छैन । कहिले रोग आउला र निदान गरौँला भनि कुरेर बस्ने हो भने मानवीय क्षति बेहोर्नुपर्ने अनिवार्य जस्तो देखिन्छ । किनभने धेरै संक्रमित व्यक्तिहरु २४ देखि ४८ घण्टा भित्रमा वहोश भई मृत्यु समेत हुने र यसको मृत्युदर हाल अफ्रिकी देशमा देखिरहेको इबोला भाइरस भन्दा पनि अत्यधिक (झन्डै ७० प्रतिशतभन्दा बढी) देखिन्छ ।
यस्तो अवस्थामा रोगको संक्रमण फैलिहालेमा नियन्त्रण गर्न कठिन हुनेछ । किनेभने हामीसँग पूर्वयोजनाको अभाव, अपुग जनशक्ति र कमजोर भौतिक पुर्वाधार अर्थात द्रुतगतिमा सर्ने रोगको छुट्टै उपचार गर्ने कक्षको अभाव मुख्य समस्या व्याप्त छन् ।